काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले आज (माघ १ गते) देखि काठमाडौँ बासीका धारामा खानेपानी वितरण गर्दैछ।
आज (सोमबार) बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गर्दैछन्।
वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको थियो। पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार सबै पानी सबैतिर एकैचोटी वितरण गर्न नसकिने हुनाले एउटा एउटा गरेर पानी भण्डारण तथा वितरण केन्द्रमा भर्ने काम भइरहेको छ । सुरुमा अनामनगर र मीनभवनको पानी भण्डारण तथा वितरण केन्द्र भर्ने काम भइरहेको छ । त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिने आयोजनाको तयारी छ।
गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो।
२८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो।







