काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार शेयर कारोबार घटेको छ ।
कर विवाद सुल्झिएसँगै आइतवार भने ५३ अंकले बढेको बजार सोमवार भने कारोबारीहरूले प्रोफिट बुक गरेकाले घटेको हो । यो दिन बजारमा करेक्सन भएको देखिन्छ ।

यो दिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अर्थ मन्त्रालयले आइतवार हाल कायम रहेको ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने निणर्य गरेसँगै बजारमा खरीदकर्ता बढेका थिए ।

साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक शून्य दशलमव ९१ प्रतिशत अर्थात् १७ दशमलव ३८ अंक घटेको छ । परिसूचक १ हजार ९०१ दशमलव ९९ विन्दुमा कायम भएको छ । यस दिन २७७ धितोपत्रको ५६ लाख २० हजार ३८१ कित्ता ३६ हजार ५६८ पटकमा रू. १ अर्ब ९७ करोड बराबर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका धितोपत्रमध्ये रिभर फल्स पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९४ दशमलव ९८० पुगेको छ। यो दिन शिवम् सिमेन्ट्सका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४ दशमलव ५० प्रतिशत घटेर प्रतिकित्ता रू. ४६५ मा झरेको छ । त्यस्तै दोस्रोमा जोशी हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ३४ प्रतिशत घटेर रू. २८० कायम भएको छ ।

केहि समययताको बजारको अवस्थाको तुलनामा बढेको बजार एक दिन घट्नु सामान्य रहेको जानकारहरू बताउँछन् । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने ब्याजदर पनि बिस्तारै घट्ने गएको छ । जसका कारण आगामी दिनमा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने बजार विश्लेषकहरू बताउँछन् ।