काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वभरमा सबैभन्दा बढी युट्युब सब्स्क्राइबर भएका राजनीतिज्ञ बनेका छन् ।

उनी विश्वकै पहिलो यस्तो नेता बनेका छन्, जसको युट्युब च्यानलमा २ करोड १३ लाख सब्स्क्राइबर छन् । उक्त च्यानलमा प्रधानमन्त्रीको सम्बोधनदेखि अन्य विभिन्न क्रियाकलापको भिडियो अपलोड हुुदै आएको छ ।

मोदीपछि युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएको नेताको रुपमा दोस्रो स्थानमा ब्राजिलका जेयर बोल्सोनारो छन् । उनको युट्युब च्यानलमा ६४ लाख सब्स्क्राइबर छन् । त्यसपछि युक्रेनका प्रधानमन्त्री भ्लादमिर जेलेन्स्की छन् । उनको हाल ११ लाख सब्स्क्राइबर छन् ।

विश्वकै सबैभन्दा बढी युट्युब सब्स्क्राइबर भएका नेता मोदीले युट्युबबाट पनि उच्च आम्दानी गर्ने गरेको पाइन्छ । स्पिकआरजेको एक रिपोर्टअनुसार मोदीले मासिक १७ लाख अमेरिकी डलर ९२२ करोड ५६ लाख नेपाली रुपैयाँ० बढी युट्युबबाट मात्रै आम्दानी गर्ने गरेका छन् ।

मोदीले आफ्नो युट्युबमा राखेको भिडियोको भ्यूजको आधारमा वार्षिक न्यूनतम ९२ लाख २१ हजार अमेरिकी डलर (१ अर्ब २२ करोड नेपाली रुपैयाँ) देखि २ करोड ७ लाख अमेरिकी डलर (२ अर्ब ७५ करोड रुपैयाँ) सम्म आम्दानी गर्ने गरेको दाबी उक्त रिपोर्टमा गरिएको छ।

सोमबार अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको भिडियो पनि मोदीको युट्युब च्यानलबाट लाइभ गरिएको थियो । उक्त लाइभ करिब १ करोड जनाले प्रत्यक्ष हेरिरहेका थिए । मोदी मल्टिमिडिया प्रति चनाखो रहने राजनीतिज्ञ हुन् ।

उनले पहिरनदेखि स्थानीयकरण सम्मलाई विशेष ख्याल गर्ने गरेका छन् । उनी अन्य सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर इन्सटाग्राम लगायतका सामाजिक सञ्जालमा पनि लोकप्रिय छन् । फोटो, भिडियोका लागि मोदी विशेष टीम नै परिचालन गर्ने गरेका छन् ।