काठमाडौं। तीन दिने एशियाली बीमा सम्मेलन आज सम्पन्न भएको छ । एशियाका २० मुलुकको बीमा नियामक, बीमक, पुनर्बीमक र वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको सम्मेलन जलवायू परिवर्तनले निम्त्याएको जोखिम न्यूनीकरण गर्दै अवसर छोप्नका लागी सहकार्य गर्ने प्रतिबद्धता सहित सम्पन्न भएको हो ।

सम्मेलन समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मेलनबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक, बीमा मध्यस्थकर्ता र बीमा क्षेत्रका विज्ञहरू एउटै छातामुनी रहेर बीमा क्षेत्रका नयाँ नयाँ जोखिम र जोखिम न्यूनीकरणका विषयमा छलफल एवम् अन्तरक्रिया तथा आपसी अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

अध्यक्ष सिलवालले जलवायु परिवर्तनका कारण चुनौतीहरू मात्र आउने नभई यसबाट बीमा क्षेत्रमा अवसरहरू समेत सिर्जना हुने भएकाले अवसरबाट लाभ लिनका लागि सम्वद्ध सबैले सामूहिकरूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष सिलवालले जोखिम व्यवस्थापन, बीमा क्षेत्रमा नवीनतम् प्रविधि र डिजिटल प्रणालीको महत्व, बीमाको पहुँच वृद्धि, नियामक निकायको क्षमता अभिवृद्धि लगायतका विषयमा भएका प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू उपलब्धीमूलक भएको बताउनुभयो ।

सम्मेलनको उद्देश्य उदयीमान जोखिमहरू बुझ्न, उदीयमान जोखिमहरू पहिचान गर्न, मूल्याङ्कन गर्न र न्यूनिकरण गर्ने प्रविधिहरू बुझ्ने, उदीयमान जोखिमहरूको प्रभावलाई न्यूनीकरण गर्न प्राविधिक क्षमताहरू निर्माण गर्न र आपसी समझदारी र सहयोगलाई सहज बनाउन उद्येश्यले आयोजक गरिएको कार्यक्रम आज सम्पन्न भएको हो ।तीन दिने सेमिनारमा बीमा पर्यवेक्षकहरू, अन्तर्राष्ट्रिय र स्थानीय बीमाकर्ताहरू, पुनर्बीमाकर्ताहरू, ब्रोकर कम्पनी र उदीयमान जोखिमहरूको प्रभावको लागि सबैभन्दा जोखिममा रहेका अन्य सम्बन्धित क्षेत्रहरूका सम्बन्धमा बहुआयामिक छलफल गरिएको थियो ।

सम्मेलन एशियाली विकास बैंक, बीमा नियामक संघ, एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभको सहयोगमा आयोजना गरिएको थियो ।