काठमाडौँ । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रु’ गरिने भएको छ। आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चन्द्रबहादुर ओलीलगायतको टोलीले आज सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा रहेको आयोजनास्थलमा निरीक्षण गरेका छन् । निरीक्षण, अवलोकनपछि ऊर्जा मन्त्री बस्नेतले तोकिएको समयभित्र काम सम्पन्न गर्न र आयोजनाका लागि स्रोत साधनको अभाव हुन नदिने बताए ।
‘आयोजनामा स्रोत साधनको कुनै समस्या आउन दिँदैनौँ,यो निकै महत्त्वको आयोजना हो समयमै काम सक्ने विषयलाई कर्तव्य बोध गर्नु।’ उनले भने अहिलेसम्मको कामको प्रगति सन्तोषजनक रहेको बताउँदै उनले तोकिएको समयभित्रै काम सक्न निर्देशन दिए। ऊर्जा मन्त्री बस्नेतसहितको उच्चस्तरीय टोलीले आयोजनाको बाँध स्थल निरीक्षण गरेको थियो।
तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रु’ भइसक्ने आयोजना प्रमुख बरालले जानकारी दिए । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ ।







