काठमाडौ । पछिल्लो तीन वर्षमा होटल चितवन प्रालिको व्यापारमा ७१.८१ प्रतिशतले बृद्धि भएको छ।
डलर अर्बपति चौधरी ग्रुपको लगानी रहेको उक्त होटलको व्यवसायिक सफलता पाएसँगै ब्यापार चम्किएको हो। कम्पनीले व्यवसायिक कम्प्लेक्ससँगै तीनतारे होटल सञ्चालन गर्दै आईरहेको छ ।
होटलले आर्थिक वर्ष २०७६- ७७ मा ७ करोड ४३ लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो। आर्थिक वर्ष २०७९-८० सम्म आइपुग्दा उक्त होटलको सञ्चालन आम्दानी १२ करोड ८४ लाख रुपैयाँ बराबर पुगेको हो। तीन वर्षको अवधिमा होटलको सञ्चालन आम्दानी ५ करोड ४१ लाख रुपैयाँले बढेको हो।
होटलले आर्थिक वर्ष २०७७-७८ मा ९ करोड ७७ लाख रुपैयाँ र आव २०७८.७९ मा ११ करोड ४३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । होटल चितवनको सञ्चालन आम्दानी २०७६र७७ लाई आधार मान्दा प्रत्येक वर्ष क्रमशः ३१.४९ प्रतिशत, १६.९९ प्रतिशत, १२.३४ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्ष २०८०- ८१ को ७ महीनामा होटलले ६ करोड १२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन गत आवको ६ महीनाको औसतभन्दा १ करोड ३७ लाख रुपैयाँले कम हो । गत आवको ७ महीनामा होटलले ७ करोड ४९ लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो ।
होटलमा विनोद चौधरीका जेठो छोरा निर्वाण चौधरीको सबैभन्दा धेरै ५३.३० प्रतिशत, एप्पोलो क्यापिटल इन्भेष्टमेन्ट प्रालिको ४०.२० प्रतिशत र श्रीमती सारिका चौधरीको ६.५० प्रतिशत सेयर हिस्सा रहेको छ । कम्पनीले क्रेडिट रेटिङ्ग इक्रा नेपाल मार्फत अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि कुल १ अर्ब २६ करोड २९ लाख रुपैयाँको रेटिङ गराएको छ । इक्रा नेपालले होटल चितवन प्राइभेट लिमिटेडको १ अर्ब २५ करोड २५ लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक ऋणको रेटिङलाई ‘एलबी प्लस’ बाट ‘एलबीबी माइनस’ मा घटाएको छ ।
हाल होटल चितवनले ४८ वटा कोठाको सुविधा तथा १ लाख ८० हजार स्क्वायरफिट क्षेत्रफलमा ७० वटा रिटेल स्टोरको मल्टिप्लेक्सको सुविधा दिँदै आएको छ । कम्पनीले भारतको द इन्डियन होटल कम्पनी लिमिटेडसँग सम्झौता गरेर नेपालमा फ्रेन्चाइज भित्र्याएको हो ।