काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन्।
भट्टराईले आज नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन् ।
उनले भने, ‘हाम्रो अहिलेको कृषिप्रधान अर्थतन्त्र छ । ६० प्रतिशत जनसङ्ख्या अहिले पनि कृषिमा आश्रित छ । यसलाई यही रूपमा राखेर देश कहिल्यै विकास हुँदैन । कृषि, उद्योग र सेवाका जुन तीन वटा क्षेत्रहरू छन् । त्यसैले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिनुपर्छ ।
कृषि क्षेत्रको जनसङ्ख्यालाई कम्तीमा १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५-४० प्रतिशतसम्म पुर्याउने र सेवा क्षेत्रलाई ५०- ५५ प्रतिशतमा पुर्याउने भयो भने देश विकास हुने हो । त्यसको निम्ति स्थिर राजनीति र ठोस आर्थिक नीति चाहिन्छ । त्यसैले मेरो सुरुदेखिको प्रस्ताव के हो भने हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाऔँ ।’ भट्टराईले थप गरे
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा गई त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।







