ग्रिन हाइड्रोजनको उचित प्रयोग गर्न सकेमा त्यसले घाटा समेत कम गर्ने सकिने यस क्षेत्रका विज्ञ बताउँछन् ।इलेक्ट्रोलाइसिस प्रक्रिया अपनाएर पानीमा रहेको हाइड्रोजन र अक्सिजन छुट्टाउँन सकिन्छ भने त्यसले नविकरणीय उर्जामा मद्धत गर्ने विज्ञहरुको धारणा छ । नेपालमा त्यस्तो अभ्यास कम मात्रामा भए पनि नेपाल बाहिर भने त्यस्तो अभ्यास पर्याप्त मात्रामा रहेको पाइएको छ । सोही सन्दर्भमा ʻहाइड्रोजनको विकासको अवाश्यकता र त्यसमा निजी क्षेत्रको सहभागीता‘ विषयमा काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ‘ग्रिन हाइड्रो ल्याब’का प्रमुख डा. विराज सिंह थापासँग आर्थिक भ्वाईसका सम्पादक विजय फूँयालले गरेको कुराकानी :

यस्तो छ डा. थापाको धारणा

हाइड्रोजन, बिजुली प्रयोग गरी इलेक्ट्रोलाइसिस प्रक्रिया अपनाएर पानीमा रहेको हाइड्रोजन र अक्सिजन छुट्टाई प्राप्त गर्न सकिन्छ । मुख्यतया आजको समयमा आयातको ठुलो अंश पेट्रोलियम पदार्थले ओगटेको छ, यदि हाइड्रोजनलाई उपयोगमा ल्याउन सकेमा खण्डमा पहिलो विषय त यसैमा उल्लेखनीय व्यापार घाटा कम गर्न सकिन्छ ।

विश्व समुदायमा हेर्ने हो भने ब्राजिलपछि सबैभन्दा बढी पानीको अंश रहेको हाम्रो देश नेपाल पर्दछ । नेपालमा रहेको र नवीकरणीय स्रोत बिजुलीको सम्भाव्य उत्पादनमा अरू मुलुकभन्दा अग्रस्थानमा रहेको हुनाले नेपालमा अपार बिजुली उत्पादन हुन सक्दछ ।

हाम्रो भौगोलिक बनावटलाई हेर्ने हो भनेपनी एक अध्ययन अनुसार आर्थिक तथा भौगोलिक रूपमा लगभग ४५ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने क्षमता हामी कहाँ विद्यमान छ ।

बिजुलीको प्रयोग गरेर हुने हाइड्रोजन उत्पादनको सम्पूर्ण प्रक्रिया उत्सर्जनरहित प्रदूषणरहित हुनाले हाइड्रोजनलाई सफा र दिगो ऊर्जावाहकको रूपमा लिइन्छ । मुख्यतया हाइड्रोजनको विकासको आवश्यकतालाई दुई खण्डमा हेर्न सकिन्छ भन्ने लाग्छ वा हेर्नुपर्दछ भन्ने म सम्झन्छु । पहिलो हाम्रो मौलिक आवश्यकता र चुनौतीहरू दोस्रो भनेको हाम्रो मौलिक आवश्यकता ग्लोबल आवश्यकतासँग कसरी जोडिएको छ भन्ने विषय ।

पहिलो मौलिक आवश्यकताको कुरा गरौँ कि रु आजको दिनमा हामीले करिब करिब ८० अर्ब बढीको पेट्रोलियम पदार्थको आयात गरिरहेका छौ । जुन त्यहाँको डलरमा किन्नुपर्ने हुन्छ त्यो पनि ऊर्जा नै हो । जुन कुरा हामीसँग छदै छैन , हाम्रो आवश्यकता भित्रै नै पर्दैन त्यही कुरा हामीले डलरमा ऋण धन गरेर किनी रहेका छौ । र जुन कुराहरू हामीसँग प्रयाप्त मात्रामा छ , बिद्युत् , सोलार आदी त्यसको उच्चतम प्रयोग गर्न नसकेकै कारण खेर गइरहेको छ ।

विश्वमा हाल इन्धनको प्रमुख स्रोतका रूपमा मानिँदै आएको पेट्रोल डिजेल आदिबाट वातावरणमा गम्भीर हानि भइराखेको र जलवायु परिवर्तनले मानव अस्तित्वलाई नै जोखिममा पारेका वेला स्वच्छ प्रदूषणरहित इन्धनका रूपमा हाइड्रोजनको चर्चा अहिले विश्वभर नै चलेको छ। हाम्रो जस्तो पर्याप्त जलस्रोत रहेको देशमा त झन् व्यापक रूपमा चलिनुपथ्यो विडम्बना भनौँ त्यस्तो हुन सकिरहेको छैन तर हुनु अनिवार्य चाही छ भन्ने हाम्रो धारणा हो ।

जुन कुरा हामीसँग छ त्यसलाई प्रयोग गर्न नसक्नु र जुन कुरा हाम्रो आवश्यकता होइन र हामीसँग छदापनी छैन त्यही कुरा दोब्बर मूल्य खर्चेर किन्नु पर्ने यो साँच्चिकै लज्जास्पद विषय हो । यो हाम्रो आन्तरिक चुनौतीको विषयमा खडा भएको छ । यसको समाधानपनी अरूबाट हुने भन्ने विषय नै रहने हामी स्वयं लाग्नुको अर्को विकल्प। छैन ।

हामीलाई आवश्यक परेको स्थानमा, परिमाणमा र आवश्यक अवस्थामा प्रयोग गर्न सक्ने प्रविधिको विकास भैसकेको र त्यो प्रविधिको धेरै मुलुकमा प्रयोग समेत हुन थालेको अवस्था छ । त्यस्तो समयमा अब हाम्रो देश नेपालले समेत त्यतातिर हात बढाउनुपर्दछ भन्ने लागेको छ । एक पटक त्यहाँ पुगेर बाहिर आउन सकेनौ भने हामीले धेरै खास कुरा गुमाएका छौ , अविकसित यात्रामा उन्मुख हुन्छौ भन्ने हाम्रो लोकल आवश्यकता अन्तर्गत पर्दछ ।

दोस्रो यो आवश्यकता हाम्रो वा नेपालीको मात्रै हैन यदि त्यस्तो हुँदो हो त हामीले अझै सहजै प्राप्तिको आकलन गर्न सक्ने अवस्था बन्दैन थियो होला, पेट्रोलियम पर्दाथ नभएको देश हाम्रो मात्रै छैन अन्य देशमा समेत यो समस्या छ , आर्थिक हैसियतको आधारमा हेर्ने हो भने पनि हाम्रो भन्दा कम विकसित देशहरू छन् । हाम्रो जस्तो पर्याप्त स्रोत साधन नभएको देश पनि छन् यसर्थ हाइड्रोजन विकासको आवश्यकता विश्वव्यापी चाहानाको विषय हो , ग्लोबल समस्या हो ।

हामीले मात्रै ईन्भेष्मेन्ट गर्नुपर्ने हामीले मात्रै प्रविधि खोज्नुपर्ने अवस्था छैन । यो विश्व समुदायमा आवश्यकता र चाहानासँग जोडिएको विषय हो । नवीकरणीय ऊर्जाको भरपुर प्रयोग कसरी गर्ने भन्ने आम आम मान्छेको निमित्त , भिन्न भिन्न देशहरूको निमित्त बहसको विषय बनेको छ । आजको युवा शक्तिको माग र आवश्यकता भनेकै पेट्रोलियम पदार्थको खपतलाई न्यूनीकरण गर्नुपर्दछ भन्ने होइन बरु कसरी पूर्णरुपमा कसरी बन्देज गर्न सकिन्छ भन्नेमा केन्द्रित छ ।

पेट्रोलियम पर्दार्थको बढी प्रयोग भएर जलवायु परिवर्तनमा समस्या आएर मानव सभ्यतामा समेत प्रश्न चिन्ह खडा भएको छ । वातावरण पूर्ण रूपमा प्रदूषित भएको छ । यो क्रम निरन्तर चल्यो भने मानव जीनन मात्रै हैन सिङ्गो चक्रीय प्रणाली नै धरापमा पर्न सक्ने चित्र प्रस्ट देखिएको छ । यस कारण यहाँबाट सकेसम्म बाहिर आउनु र मानव जीवनको अस्तित्व कायम राख्नु आजको आवश्यकता हो । यो प्रेसर कुनै एउटा निश्चित देशको हैन यो त समग्र विश्व समुदायको प्रेसरको विषय हो ।

नवीकरणीय ऊर्जालाई जिवास्मा ऊर्जाको रूपमा रिपेस्मेन्ट गर्नको लागी हाइड्रोजन कडी हो भन्ने कुरा विज्ञानले प्रमाणित गरेको विषय हो । विकसित देशहरूले यसको प्रयोग र अनुसन्धानका लागी आफ्नो प्रविधि र लगानी प्रचुर मात्रामा गरेको अवस्था छ । नेपालकै हकमा प्रयोगात्मक विषयलाई हेर्ने हो भने केही समयअघि नेपाल, बेलायत र स्विट्जरल्यान्डका एक दर्जनभन्दा बढी वैज्ञानिकले काठमाडौँ विश्वविद्यालयको हाइड्रोजन ल्याबमा नयाँ ढङ्गबाट डिजाइन गरिएको चुलोमा हाइड्रोजन प्रयोग गरी ७ मिनेटमा खाजा पकाइएको समाचार नआएको होइन । यसले हाइड्रोजन अब घरमै खाना पकाउने ग्यासको विकल्पमा प्रयोग गर्न सकिन्छ भन्ने अध्ययन सफल भएको देखिन्छ ।

हाइड्रोजन ब्रह्माण्डमा सबैभन्दा हल्का र प्रचुर मात्रामा रहेको एकल प्रोटोन र एकल इलेकट्रोन बनेर तयार भएको तत्त्व हो । यो अरू तत्त्वसँग प्रतिक्रिया गरी यौगिकका रूपमा रहने भएकाले निम्न कारणले बढी महत्त्वपूर्ण रहेको पाइन्छ । हाइड्रोजन बिजुली उत्पादन गर्न इन्धन सेलमा प्रयोग गर्दा हानिकारक उत्सर्जन वायु दूषक उत्पादन गर्दैन । यो प्रदूषणरहित ऊर्जा हो ।
नेपालको जलवायु परिवर्तनमा देखिएको समस्या हाम्रो मात्रै समस्याको विषय होइन अथवा यसको भागेदार हामी मात्रै हैन, यो विश्व समुदायसँग जोडिएको समस्या हो ।

म दोहोराएर स्मरण गराउन चाहन्छु कि नेपालमा पानीको अंश धेरै रहेको छ यसबाट व्यावसायिक हाइड्रोजन उत्पादन गरी निर्यातमार्फत आम्दानी बढाउन सकिने आधार प्रशस्त बनेको छ । यसले ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापार र सहयोगलाई प्रोत्साहन गर्न सक्छ । यति मात्रै होइन, हाइड्रोजन अर्थतन्त्रको विकासले प्रविधि र पूर्वाधारलाई द्रुत गतिमा बढाउन सकिन्छ ।

जसद्वारा नयाँ उद्योगहरू खोली रोजगारी सिर्जना गरी आर्थिक वृद्धिलाई पनि प्रोत्साहित गर्न सकिन्छ । अर्थतन्त्रमा हाइड्रोजनको उचित उपयोगले अनुसन्धान र विकासदेखि निर्माण, स्थापना, मर्मत र हाइड्रोजन–सम्बन्धित प्रविधि र पूर्वाधार सञ्चालनमा धेरै रोजगार सिर्जना गरी आर्थिक विकास र रोजगारीका अवसर प्रदान गर्न सहयोग पुर्याउँछ ।

हाइड्रोजन खाद्य उद्योगमा हाइड्रोजन सनजस्ता प्रक्रियाका लागि प्रयोग गरिन्छ, जसले असन्तृप्त बोसोलाई थप ठोस, सन्तृप्त फ्याटमा रूपान्तरण गर्छ । र, हाइड्रोजन औषधि उत्पादनमा पनि प्रयोग गरिन्छ ।

संक्षेपमा, हाइड्रोजनलाई नवीकरणीय ऊर्जा स्रोत प्रयोग गरेर उत्पादन गरिने भएकाले यसलाई हरियो ग्यास मान्न सकिन्छ । हरित गृह ग्यास उत्सर्जन कम गर्न र दिगो ऊर्जा भविष्य प्रवर्द्धन गर्न हरियो हाइड्रोजनको अधिकतम प्रयोगतर्फ जान सके यसले अहिलेको जलवायु परिवर्तनको चुनौतीलाई पनि सम्बोधन गर्न र समाधानमा सहयोग गर्नेछ ।

नेपाल जलवायु परिवर्तनको रोकथाम र क्षति न्यूनीकरणका लागि आफ्नो भूगोलभित्र मात्र होइन विश्व समुदायलाई नै झकझकाउने गरी सक्रिय हुनुपर्ने छ ।

नेपालले विद्युत् उत्पादनमा ठुलो फड्को मारिसकेको छ । र यो फड्कोको लाभ भनेको अथ तन्त्रका लागि जुन हिसाबले लाभदायी छ त्यो भन्दा ठुलो रणनीतिक लाभ वातावरणीय क्षेत्रमा हुनेछ । किनकि नेपालको बिजुलीले अब नेपालभित्रको कार्बन उत्सर्जन मात्र प्रतिस्थापन गर्ने छैन ।

भारत बँगादेश भुटान श्रीलङ्कासम्म नेपालको स्वच्छ हरित जलविद्युत् पुराएर दक्षिण एसियाली क्षेत्रमा नै योगदान गर्ने प्रबल सम्भावना पनि बोकेको छ । यही बिजुलीको खपत गरेर इलेक्ट्रोलाईसिस पद्धतिमानमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गर्ने र त्यसलाई स्वदेशी खपत तथा विदेश निर्यातको सम्भावना छ ।

वातावरण रक्षा र प्रवर्द्धनका दृष्टिकोणले हाइड्रोजनको खपत यातायात र औद्योगिक क्षेत्रमा गराउन सक्दा जीवाश्म इन्धनको निर्भरतालाई कम गर्न पनि हरित हाइड्रोजन फलदायी हुन्छ । अध्ययनहरूले ठुला पानी जहाज, लरी ट्रकहरू हाइड्रोजन मार्फत सञ्चालन गर्दा आर्थिक र वातावरणीय हिसाबले अत्यन्तै लाभदायी हुने निष्कर्ष निकालिसकेका छन् । युरोपेली मुलुकमा बस तथा ट्रक निर्माण सुरु भइसकेको पनि छ ।

उता हवाई कम्पनी एयरबसले पनि हाइड्रोजनबाट चल्ने प्लेन निर्माण पनि गरिरहेको छ । औद्योगिक क्षेत्रमा उच्च क्षमताको ताप सृजना गर्न अहिले पनि कोइला तथा अन्य रासायनिक पदार्थ प्रयोग हुँदै आएको छ । यसलाई पनि हाइड्रोजनले प्रतिस्थापन गर्न सकिन्छ ।

नवीकरणीय ऊर्जाबाट उत्पादन गरेको विद्युतको प्रयोग गरी पानीको विद्युतीय विच्छेदनबाट उत्पादित हरित हाइड्रोजनलाई केमिकल फिडस्टकको रूपमा रासायनिक मल उद्योग, स्टिल उद्योग, यातायातमा प्रयोग गर्न सकिन्छ । तर हरित हाइड्रोजनको उत्पादन लागत ग्रे हाइड्रोजनको तुलनामा धेरै रहेको छ ।

हाइड्रोजन अर्थव्यवस्थालाई साकार रूप दिन हरित हाइड्रोजन नीति आवश्यक रहेको छ । नेपाल सरकारले हालसम्म हरित हाइड्रोजन नीति निर्माण गरेको छैन, तर सरकारले हरित हाइड्रोजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ । हाइड्रो प्लान्ट निर्माण गर्दा हरित हाइड्रोजन नीति आवश्यक रहेकाले नीति निर्माणको वातावरण सिर्जना गरेको छ ।

नेपाल हरित हाइड्रोजन सम्मेलनले हरित हाइड्रोजन टेक्नोलोजीमा लगानी गर्दा नेपाली अर्थतन्त्रमा सुधार ल्याउनुका साथै नेपाललाई हरित ऊर्जा विकासमा तीव्रता दिन, प्रतिस्पर्धात्मक रूपमा हरित ऊर्जा विकास गरी विश्वव्यापी रूपमा हरित ऊर्जा विकास गर्ने देशको रूपमा आफूलाई स्थापित गर्न सघाउने छ ।