काठमाडौँ । आज वैशाख ४ गते मंगलबारका दिन हिन्दु नेपालीहरूले चैते दसैँ पर्व मनाई रहेका छन् । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा आराधना गरी चैते दसैँ मनाउने  प्रचलन छ ।

संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किसिमका दसैँ धूमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन्। आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्त प्रायः छन् ।

तर यी सबै दसैँहरूको आ–आफ्नै विशेषताहरू छन् । यी दसैँहरूमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् । वसन्तीय नवरात्रको आठौँ दिन धूमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दसैँ  मानिन्छ ।

आजको दिन शक्तिपीठ एवं देवीका मन्दिरहरूमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ। चैते दसैंमा दहि–चिउरा खाने र देवीको पूजापाठ गर्ने चलन छ। काठमाडौँ उपत्यका देवी मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

हनुमान ढोकामा आज बलीसहितको पूजा गरिन्छ। चैते दसैँमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ।

यसै गरी नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ। रामनवमीमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ ।गण्डकी प्रदेश सरकारले चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।