काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले दक्षिण भारतीय चलचित्र नसच्याए पालिकामा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका छन् ।
दक्षिण भारतीय चलचित्र आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भनेको पाइएपछि महानगर प्रमुख बालेनले नेपालमा मात्र नभई भारतमा पनि ३ दिनभित्र चलचित्र सच्याउन चेतावनी दिएका हुन् ।
बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’






