काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा साढे ४ अर्ब आन्तरिक राजस्व संकलन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

महानगरले २०८०।८१ वैशाख मसान्तसम्म ४ अर्ब ४७ करोड १९ लाख बराबर आन्तरिक राजस्व संकलन गरेको हो । महानगरले आन्तरिक राजस्वमा गत वर्षभन्दा ८ करोड ५७ लाखले धेरै उठाएको हो ।

काठमाडौंले सबैभन्दा धेरै राजस्व घर बहाल करबाट उठाउँदा राजस्व विभागका अनुसार १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ संकलन भएको छ । गत आवमा महानगरपालिकाले १ अर्ब ७५ करोड १६ लाख उठाएको थियो । चालु आवमा महानगरले घर बहाल कर २४ करोड ३९ लाख रुपैयाँ धेरै उठाएको देखिन्छ ।

महानगरका प्रशासनिक सेवा शुल्क राजस्व गत वर्षभन्दा उच्च दरमा बढेको छ । गत आव १० महिनामा ७२ लाख ९ हजार मात्रै उठाएको महानगरले चालु आव सोही अवधिमा ३ करोड २२ लाख उठाउन सफल भएको आँकडा सार्वजनिक गरिएको छ ।

यस्तै शिक्षा क्षेत्रको आम्दानी पनि महानगरले दोब्बर बनाएको छ । गत आव वैशाख मसान्तसम्म २३ लाख ४२ हजार उठाएको काठमाडौंले चालु आव सोही अवधिमा ४६ लाख ८९ हजार उठाएको अवस्था छ ।