काठमाडौँ। सार्वजनिक संस्थानहरूको नाफामा १ खर्ब ४ अर्बले वृद्धि भएको छ। सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७८- ७९ मा संस्थानको कूल सञ्चालन आय ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेको देखाएको छ ।
आर्थिक वर्ष २०७९- ८० मा १४.८७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब १ करोड २९ लाख पुगेको छ। यो तथ्याङ्क सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा २०८१ मा आएको हो । आर्थिक वर्ष २०७९- ८० मा अस्तित्वमा रहेका मध्ये २६ वटा संस्थानले नाफा आर्जन गरेका छन् भने १५ वटा संस्थान घाटामा रहेका छन् । ३ वटा संस्थानको कारोबार शून्य रहेको छ ।
आर्थिक वर्ष २०७८- ७९ को तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा ३०४६.२० प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९-८० मा ४८ अर्ब ५१ करोड ७५ लाख कायम भएको छ । यसरी नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आ.व.२०७८- ७९ मा ३८ अर्ब १७ करोड ७८ लाख घाटा रहेको थियो भने आव २०७९- ८० मा ११ अर्ब ७२ करोड ३० लाख नाफामा रहेको छ ।
आर्थिक वर्ष २०७९- ८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा ९८१.४० प्रतिशतले बढेको छ। भने, नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी २.८१ प्रतिशतले बढेको देखिन्छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च २३.७९ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७९- ८० मा शेयर धनी कोष (नेटवर्थ) गत आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई ९ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ । समीक्षा अवधि ३२ वटा संस्थानको शेयर धनी कोष धनात्मक र बाँकी १० वटाको शेयरधनीकोष ऋणात्मक रहेको छ ।
आर्थिक वर्ष २०७९र८० मा सार्वजनिक संस्थानमा ३२.१८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानको सङ्ख्या ४४ वटा छन् ।
जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५ जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान अस्तित्वमा रहेका छन् । स्वामित्वका आधारमा हेर्दा २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन् ।







