काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा फाइनान्स कम्पनीहरुको नाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको ४ महिनामा फाइनान्स कम्पनीहरुले २९ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्म भने फाइनान्स कम्पनीहरु समग्रमा १५ करोड २१ लाख रुपैयाँ घाटामा थिए ।
४ महिनाको अवधिमा प्रोग्रेसिभ फाइनान्सले सबैभन्दा बढी १५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म कम्पनी १० करोड २० लाख रुपैयाँ घाटामा थियो ।
त्यस्तै, मन्जुश्री फाइनान्सले १५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिसम्मको तुलनामा ३४.६५ प्रतिशत बढी हो । गत आवको ४ महिनामा कम्पनीले ११ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसका साथै आइसीएफसी फाइनान्सले ८ करोड ४५ लाख, जानकी फाइनान्सले ७ करोड ५४ लाख, गुडविल फाइनान्सले ५ करोड ६३ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड ८ लाख, गोर्खाज फाइनान्सले ३ करोड ६१ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ४२ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले ८८ लाख रुपैयाँ र नेपाल फाइनान्सले ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा ५ वटा फाइनान्स कम्पनी भने घाटामा रहेका छन् । जसमध्ये गुहेश्वरी मर्चेन्ट १४ करोड ५७ लाख, रिलायन्स फाइनान्स १० करोड ५५ लाख, पोखरा फाइनान्स ६ करोड ४२ लाख, समृद्धि फाइनान्स २ करोड ६३ लाख रुपैयाँ र वेष्ट फाइनान्स २ करोड ३३ लाख रुपैयाँ घाटामा देखिएको छ ।







