काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ११२ औ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई बुधवार सम्बोधन गर्दै सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबिचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् ।

जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष ढकालले रोजगारदाताको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका छन्। नेपालका रोजगारताहरू श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा सुमधुर श्रम सम्बन्ध विस्तार भइरहेकाले उल्लेख गर्दै यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको उनको भनाइ थियो ।

सम्मेलनमा सहभागी रोजगारदाताहरूलाई ढकालले सामाजिक सुरक्षा लैगिंक समानता र दिगो आय आर्जनको अवसर बढाउन नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

भारतसँग १० हजार मेगावाट बिद्युत् खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको स्मरण गर्दै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी बढाउन आग्रह गरेका हुन् ।

सूचना प्रविधि कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरू पनि नेपालको लाभका क्षेत्र रहेको ढकालले बताए । ढकालले लगानी सहजी करणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउन नीति अंगिकार गर्ने सरकारको योजना रहेको समेत सम्मेलनका सहभागीलाई स्पष्ट पारेका छन् ।

यसै गरी, भारत र चीन जस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिलस्टेसनहरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उनले बताए ।