काठमाडौं । गत जनवरी १, २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ ले १३० भन्दा बढी यात्रु पहिलोपटक पोखरा झार्ने भएको हो । चीनको छेन्दु-तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार पोखरा विमानस्थल अवतरण गर्नेछ ।

दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाईट हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
पोखरा महानगरपालिका, चिनिया दुतावास र पर्यटन बोर्डको साझेदारीमा यहीँ असार ८ र ९ गते पोखरामा आयोजना हुन लागेको बोट रेसका लागि चिनिया खेलाडीसहित १३० भन्दा बढी पर्यटक नेपाल आउनेछन् ।
सोही अवसरमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित सांसदहरु प्रदीप यादव, धवलशम्शेर जबरा, दिपा गुरुङ, उदयबहादुर बोहोरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमार्फत पोखरा झर्नेछन् ।
अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गा शर्माका अनुसार जेठ २७ गते काठमाडौंबाट चीन भम्रणमा अध्यक्षसहित ७ जना सांसद तथा अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा गएका छन् । सबै नौ जना पोखरामै अवतरण गर्ने कार्यक्रम छ ।
सिन्चुवान विमान असार ६ गते पोखरा विमानस्थल अवतरण गरेर सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्किनेछ । यसपछि नियमित उडानमार्फत काठमाडौंबाट छेन्दु फर्किने सहप्रवक्ता भुलले जानकारी दिए ।