कठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १८ महिनाको अवधिमा पाँचौंपटक विश्वासको मत लिने भएका छन् ।
सत्तारुढ एमालेले समर्थन फिर्ता लिएसँगै असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा दाहालले पाँचौँपल्ट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले असार २८ को प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई लिखित आग्रह गरेका थिए।
संसद्मा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले असार १७ गते राती नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए। दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन्।
२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसद्मा तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल २०७९ पुस ११ मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए। एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनपछि दाहालले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए। सत्तारुढ हुँदै गरेका ठूला दुई दल क्रमशः कांग्रेस र एमालेले असार २८ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मतमा मतदान नगर्न आफ्ना सांसदलाई ह्वीप लगाएका छन्।







