काठमाडौं । २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भएको छ । साझा पावर डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भएको हो ।

२० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो ।

असार ५ गते भएको वित्तीय व्यवस्थापनमा आयोजनाका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जिव न्यौपाने र प्रवन्ध सञ्चालक कुवेरमणी नेपाल तथा बैंकका आयोजना लगानी प्रमुख भुषण तण्डुकारले हस्ताक्षर गरेका छन् ।

सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण हुने २० मेगावाटको आयोजनाको अनुमानित लागत ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्‍वपूँजीमा निर्माण हुने आयोजना यही असारबाटै निर्माणमा जाने कम्पनीका प्रबन्ध सञ्चालक कुवेरमणि नेपालले जानकारी दिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का कार्यसमिति सदस्यसमेत रहेका नेपालले निर्माण शुरु गरेको दुई वर्षमा आयोजनाबाट विद्युत उत्पादन हुने बताए ।

वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रति युनिटका दरले विद्युत खरिदबिक्री सम्झौता भएको आयोजनाले वार्षिक १० करोड ५३ लाख युनिट विद्युत उत्पादन गर्नेछ ।

आयोजनाबाट वर्षायाममा ७ करोड २६ लाख ८४ हजार युनिट अर्थात ३४ करोड ८८ लाख रुपैयाँ र हिउँदमा ३ करोड २६ लाख २१ हजार युनिट अर्थात २७ करोड ४० लाख रुपैयाँ गरी ६२ करोड रुपैयाँ बराबरको ऊर्जा उत्पादन हुनेछ ।

त्यस्तै रिडी पावर कम्पनीले मुख्य लगानीमा निर्माण हुने आयोजनामा कुमारी बैंकले १५० करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बाँकी १ अर्ब ८० करोड रुपैयाँ ऋण लगानीका लागि कुमारी बैंकले नै अन्य बैंकसँग प्रस्ताव गर्ने भएको छ ।