काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। सरकार परिवर्तनका कारण ढिलाइ भएको नीति भोलि सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकले गत शुक्रवार नै नीति सार्वजनिक गर्ने तयारी गरे पनि सरकार परिवर्तनपछि मौद्रिक नीति ल्याउनमा केही दिनलाई ढिलाइ भएको थियो। गत साता नै राष्ट्र बैंकको उच्च व्यवस्थापन तहले मौद्रिक नीति पारित गरिसकेको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले मौद्रिक नीतिमा थप परिवर्तनको आवश्यकता रहेको भन्दै केही पर सार्न भनेका थिए जसले गर्दा मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको हो। राष्ट्र बैंकको शुक्रवार बोर्ड बैठक बस्दै छ । जसमा मुख्य एजेन्डा मौद्रिक नीति पारित गर्ने विषयमा केन्द्रित रहने जनाएको छ । आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकले यस पटक अर्थतन्त्र चलायमान हुने गरी लचिलो व्यवस्थासहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कर्जा विस्तार बढाउने गरी मौद्रिक नीतिमा केही नीतिगत परिवर्तन गर्ने तयारीमा राष्ट्र बैंक छ। राष्ट्र बैंकले यस पटक निर्माण क्षेत्रलाई विशेष सहुलियत दिने देखिएको छ। यस्तै घरजग्गा र शेयर बजारमा पनि केन्द्रीय बैंकले थप लचिलो बन्ने संकेत दिएको छ।