काठमाडौँ । नेपालमा अण्डाको मूल्य घटेको छ। नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका छन् ।

असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ । यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको गत आव २०८०-८१ को साउनदेखि असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

यता, एक वर्षमै बजार महँगी २.३ प्रतिशत बिन्दुले घटेको हो। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो। अघिल्लो आवको तुलनामा गत आव २०८०-८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत रहेको छ । यस्तै, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरूको ९.८७ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको छ। साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत घटेको छ।

गत आव २०८०–८१ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६४ प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त समूहको यस्तो मुद्रास्फीति ८.६२ प्रतिशत रहेको थियो । गत असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१५ प्रतिशत रहेको छ ।