काठमाडौं। भदौ ११ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नाडा अटो सो’ सञ्चालन भएको भएको छ । उक्त अटो सो मा बैंक तथा वित्तीय संस्थाहरूको समेत स्टल रहेको छ । गाडीहरूको कुम्भमेलाको रूपमा हेरिने नाडा अटो सो मा बैंक तथा वित्तीय संस्थाहरूले केही प्रतिशत छुटमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
मेलामा फाइनान्सिङ र कर्जाको ब्याजदरका विषयमा बुझ्न आउने अवलोकनकर्ताहरूको सङ्ख्या बाक्लिँदै गएको छ अटो वा हायर पर्चेज कर्जाका रूपमा बैंकहरुले प्रवाह गर्ने कर्जामा ५० प्रतिशत डाउन पेमेन्टको व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार प्राकृतिक व्यक्तिलाई व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा ८० प्रतिशतसम्म मात्र गर्न पाइन्छ ।
यस कारण फाइनान्सिङमा सबै बैंकहरु उस्तै देखिएका छन् । तर ब्याजदरमा भने प्रतिस्पर्धा देखिन्छ। यता, अधिकांश बैंकहरुको सेवा शुल्कमा पनि छुट दिएका छन् । अरू बेलामा ०.७५ प्रतिशत सेवा लिँदै आएका अधिकांश बैंकले अटो सो लक्षित सेवा शुल्क ०.२५ प्रतिशतसम्म कायम गरेका छन् ।
गाडी किन्नेलाई कुन बैंकको ब्याजदर तथा सेवा शुल्क कति ?
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले नाडा अटो सो लक्षित योजना ल्याएको छ । बैंकले अटो सोमा व्यक्तिगत विद्युतीय सवारी साधन खरिद गर्नेलाई ७.९९ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराउने जनाएको छ । नाडा अटो सो बाहेक बाहिरबाट विद्युतीय सवारी साधन खरिद गर्नेले ८.४९ प्रतिशत ब्याजदर तिर्नुपर्छ ।
साथै, इन्धन वाला सवारी साधन खरिद गर्नेले ८.४९ प्रतिशत ब्याजदरमा ऋण पाउने छन् । यो ब्याज ५ वर्षसम्मको कर्जामा लागू हुने बैंकले जनाएको छ । सोमा बाहेक अन्तबाट सवारी कर्जा लिनेले ८.९९ प्रतिशत ब्याजदर तिर्नुपर्छ ।
हिमालयन बैंक
हिमालयन बैंकले नाडा अटो सोमा आधारदरमा ०.६५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा उपलब्ध गराउने जनाएको छ । अहिले यसको आधारदर ८.८६ प्रतिशत छ। बैंकले विद्युतीय सवारीका लागि यसमा ०.५० प्रतिशत प्रिमियम थप गरेर कर्जा उपलब्ध गराउने जानकारी गराएको छ ।
बैंकले विद्युतीय सवारी खरिद गर्नेलाई ९.३६ प्रतिशत ब्याजदर कर्जा दिने भएको छ। इन्धन सवारीका लागि ०.६५ प्रतिशत प्रिमियम जोडेर ९.५१ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले नाडा अटो सोमा ९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने जनाएको छ । अधिकतम ८ वर्षका लागि यस्तो कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकले विद्युतीय सवारी साधनको खरिदमा ६ वर्षसम्मको लागि फाइनान्सिङ सुविधा दिने भएको छ । बैंकले कर्जा उपलब्ध गरेपछि सेवा शुल्कको रूपमा ०.२५ प्रतिशत लाग्ने स्पष्ट पारेको छ ।
लक्ष्मी सनराइज बैंक
नाडा अटो सो मा लक्ष्मी सनराइज बैंकले सवारी कर्जा लिनेलाई ८.९९ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने जनाएको छ । उक्त ब्याजदरमा ७ वर्षको लागि फाइनान्सिङ सुविधा दिएको छ । त्यस्तै इन्धन सवारीमा ८.२५ प्रतिशतको आधार दरमा १.५० प्रतिशत प्रिमियम थप गरेर ९.७५ प्रतिशतको ब्याजमा कर्जा दिने जानकारी दिएको छ ।
सानिमा बैंक
सानिमा बैंकले ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने जनाएको छ । यस बैंकले ०.२५ प्रतिशत मात्रै सेवा शुल्क लिने जनाएको छ ।
नबिल बैंक
नबिल बैंकले नाडा अटो सो मा ५ वर्षसम्मका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । यो अफर विद्युतीय र इन्धन दुवैका लागि लागू हुनेछ । स्थिर ब्याजदरका लागि मात्रै कर्जा स्किम ल्याएको बैंकले सेवा शुल्क ०.५ प्रतिशतसम्म लिने जनाएको छ ।
महालक्ष्मी विकास बैंक
नाडा अटो सो मा महालक्ष्मी विकास बैंकबाट व्यक्तिगत सवारीसाधन किन्नेले ९.९९ प्रतिशत ब्याज दरमा ऋण पाउँछन् । यही ब्याजदर विद्युतीय सवारी साधन खरिदमा पनि यही ब्याजदर लागू हुने बैंकले जनाएको छ । यो ब्याजदर २ वर्षसम्मको लागि लागू हुने बैंकको भनाइ रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नाडा अटो सो मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय सवारीमा आधार दरमा १ प्रतिशत र इन्धनमा २ प्रतिशत ब्याजदर थपेर कर्जा दिने जनाएको छ। अहिले बैंकको आधार दर ७.६४ प्रतिशत छ । जसअनुसार विद्युतीय सवारी खरिदमा ८.६४ प्रतिशत र इन्धन सवारी खरिदमा ९.६४ प्रतिशत ब्याजदर तिर्नुपर्छ । बैंकले ५ वर्षको लागि फाइनान्सिङको सुविधा दिएको जनाएको छ ।








