काठमाडौँ। सरकारले दशैं तिहारको समयमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्यका पसल सञ्चालन गर्दै आएको छ । जस अनुसार यस वर्ष पनि यही महिना ७ गतेदेखि देशैभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारीमा जुटेको खाद्य व्यवस्था कम्पनीले जनाएको छ ।
यस वर्ष दैनिक प्रयोगमा आउने खाद्यान्नहरूमा पहिले बिक्री हुँदै आएको मूल्यभन्दा प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था रहेको उक्त कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले कर्णालीको रैथाने उत्पादन जुम्ली मार्सी, कागुनो, चिनो, कर्णालीको सिमी, उवा, तिते फापरमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने भएको छ । भने स्टिम जिरा मसिनो, बासमती, आरुवा सोना, आरुवा मोटा, कालानुनीया, ब्राउन, साँवा स्टिम आरुवा रञ्जित, फोर्टीफाइड लगायतका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने भएको छ ।
साथै चना, रहर, मसिनो मुसुरो, क्वाँटी, ठुलो मुसुरो मासको दाल र रहरको दालमा प्रतिकिलो ५ रुपैयाँ, गहुँको पिठो, चिउरा, गहुँ र चिनीमा ५ रुपैयाँ र भटमास, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर ७ रुपैयाँ, डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट दिइने गरि मूल्य सूचि तयार गरेको जनाएको छ ।
खाद्य संस्थानले चाडपर्वलाई लक्षितगरी यो वर्ष ४२ जिल्लाका ६१ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सबैभन्दा धेरै कर्णाली र लुम्बिनी प्रदेशमा रहने छन् । त्यस्तै बागमती प्रदेशमा काठमाडौँको थापाथली बिक्री केन्द्र, रामशाहपथ बिक्री केन्द्र, नख्खु बिक्री केन्द्र र भक्तपुरको सूर्य विनायकमा गरी ४ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने जनाइएको छ ।
गण्डकी प्रदेशमा ७ स्थानमा सहुलियत मूल्य सञ्चालन हुनेछन् । कास्कीको पृथ्वी चोक बिक्री केन्द्र, कास्कीकै बिरौटा बिक्री केन्द्र, गोरखा शाखा कार्यालय र डिपो कार्यालय सिर्दिवासबाट सहुलियत पसल सञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ ।







