काठमाडौ । दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद लिने गर्छन् ।
साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तकहाँ पुग्ने गर्दछन् ।
आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्छ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठुलाहरूको हातबाट थापेर आशिर्वाद लिने गरिन्छ ।
यस्तै आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।







