चितवनको भरतपुर महानगरपालिका-५ सिताराम चोकमा बिहीबार केरुङ्गा खोला रेखाङ्कन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी । अतिक्रमणको चपेटामा परेको ३० किलोमिटर लामो खोला संरक्षणका लागि रेखाङ्कनको काम सुरु भएको हो । तस्बिरः कृष्ण आचार्य / रासस

भरतपुर । भरतपुरको केरुङ्गा खोलाको सीमाङ्कनको काम सुरु भएको छ । आज महानगरपालिकाको वडा नं ५ र ६ को सिमानाबाट सीमाङ्कनको काम सुरु गरिएको हो ।

खोला सीमाङ्कनको काम सुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सार्वजनिक जमिन संरक्षणको कामलाई निरन्तर अघि बढाएको बताइन् । उनले महानगरमा अतिक्रमित जमिनको संरक्षण गरिने भन्दै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन् ।

’सार्वजनिक जग्गामा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको छ’, महानगरप्रमुख दाहालले भनिन्, ’व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको छ ।’

केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुग्ने खोला ३० किलोमिटर लामो रहेको बताए । उनका अनुसार उक्त खोला वडा नं १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ नं हुँदै बगेको छ । संयोजक अधिकारीले प्रक्रिया पूरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताए ।

हिउँदमा नारायणी लिफ्टको पानी नहरमा हालेर केरुङ्गामा डुङ्गा चलाउने योजना बनाइएको उपप्रमुख अधिकारीले बताए । खोलाको संरक्षण पश्चात यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने उनको भनाइ छ ।

केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने महानगरपालिकाका इन्जिनियर शिवहरि अधिकारीले बताए । ’केरुङ्गा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि १४ करोड रुपैयाँ विनियोजन भएको छ’, उनले भने, ’केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न तीन अर्ब रुपैयाँ बढी लाग्ने अनुमान गरिएको छ ।’ खोलामा डुङ्गा चलाउन मिल्ने गरी दाँयाबायाँ साइकल ट्र्याक र ठाउँ ठाउँमा पार्कसमेत निर्माण गरिने उनले जानकारी दिए । रासस