काठमाडौं । हिमाल पारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको बिजुली जोडिएको छ ।
मनाङको खाङ्सारस्थित समुद्री सतहबाट चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ। बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति दिइएको हो। बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरू सञ्चालनमा छन्। बेस क्याम्पमा विद्युतका ग्राहक सङ्ख्या १५ छ।
राष्ट्रिय लाइन पुगेपछि बेसक्याम्पबाट तिलिचो ताल जाने पैदल यात्रीहरूको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ। विद्युतको प्रयोग गरी पानी उमाल्न थालिएको छ। उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्याँसको प्रयोग हुने गरेको छ ।
केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताए।







