काठमाडौँ। अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन पुनः काट्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चेतावनी दिएका छन् ।
आज प्राधिकरणको कार्यालयका पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले उद्योगको बक्यौता नउठेको खण्डमा प्रक्रिया अनुसार अघि बढ्ने जनाएका छन् । मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा काटिएको बिजुली जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्देशनअनुसार आफूहरूले कार्यान्वयन थालेको उनले बताए।
उनले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’
पत्रकार सम्मेलनमा कुलमानले यो समस्या अब सदाका लागि अन्त्य हुनुपर्ने बताए। प्राधिकरण सरकार र नियामक निकायको निर्णय र निर्देशन मान्ने भएकाले अहिले उद्योगहरूमा बिजुली जोड्न थालिएको उनको भनाइ छ।
उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा पनि झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको घिसिङको भनाइ छ। ‘लाइन काट्नुभन्दा अगाडि उत्पादित वस्तु बिक्री नभएसम्म उद्योगी लाइन जोड्न नआउने र सामान बिक्री भएपछि बेरोजगार बढ्यो, अर्थतन्त्र तहसनहस भयो भन्दै ब्ल्याक मेल गर्नुहुन्छ। सरकारलाई केही न केही निर्णय गर्न बाध्य पार्नुहुन्छ‘, घिसिङले भने।








