काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा शिवम् सिमेन्ट्स लिमिटेडले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा भने कम्पनीले नोक्सानी बेहोरेको थियो ।  गत आर्थिक वर्ष कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो। आम्दानी घटे पनि अन्य आम्दानी बढेको र खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफामा ३९.२१ प्रतिशत कमी आएको छ भने अन्य आम्दानी ३९७.६४ प्रतिशत बढेको हो। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा २२.८५ प्रतिशत घटेको छ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा कायम रहेको छ ।