काठमाडौँ। काठमाडौँका भिन्नाभिन्नै ३ ठाउँमा आज सडक प्रदर्शनका कार्यक्रमको आयोजना गरिएसँगै अत्यधिक जामको कारण नागरिकलाई सास्ती भएको छ ।
नेकपा (एमाले) ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ भने माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर र ललितपुरको सिमानास्थित बालकुमारीमा सडक प्रदर्शनको तयारीमा रहेको छ ।

तीन कार्यक्रमलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनका लागी काठमाडौँको ११३ स्थानमा डाइभर्सन प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । ३ ठाउँको कार्यक्रमको ट्राफिक व्यवस्थापनका लागि ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम छ। सो क्षेत्रमा प्रवेश गर्न खोज्ने सवारी साधनलाई ट्राफिक प्रहरीले बिहानैदेखि केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरेको छ ।
ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वर–बालकुमारी क्षेत्रमा प्रदर्शनमा सहभागीहरूको चापलाई ध्यान दिएर आवश्यकता अनुसार सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरी कार्यालयको भनाई छ।

नेकपा एमालेको र्याली ११ बजेबाट भद्रकालीबाट सुरु हुँदै छ । र्यालीको तयारी बढेसँगै उपत्यकाभित्र अत्यधिक ट्राफिक जामका कारण यात्रुलाई सास्ती भएको छ । कार्यालय हिँडेका कर्मचारी समेत जामका कारण बिच बाटोमा अल्झिएका छन्। अत्यधिक चाप बढेसँगै व्यवस्थापनका लागी ट्राफिक प्रहरीलाई हम्मे परिरहेको छ ।







