काठमाडौँ। मृत्युपश्चात् मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग सहित सम्मान गर्ने निर्णय भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनाएका छन् ।

आफैले समेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका मन्त्री पौडेलले यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय गरेको मन्त्री पौडेलको भनाई छ ।

यस अगाडि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएको थियो । त्यसैमा थप एक लाख मन्त्रालयले थप गर्दै २ लाख दिने निर्णय भएको हो ।

अर्थ मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय भएको मन्त्री पौडेललेको भनाई छ । अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्‍याएको छ ।