काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सको वित्तीय अवस्था अरुको तुलनामा अगाडि नै देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिखरको नाफा र प्रतिशेयर आम्दानी शीर्ष दोस्रो स्थानमा छ । अरु सूचकमा पनि कम्पनी अगाडि नै देखिन्छ ।
यता, शिखर इन्स्योरेन्सको २०औं वर्षमा प्रवेश गरेको छ । २० वर्षको समयअवधिमा कम्पनीले बिमा क्षेत्रमा विभिन्न रेकर्ड कायम गरेको देखिएको छ । कम्पनी १०० करोडदेखि ५०० करोडसम्म बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बनेको छ ।
स्थापनादेखि शिखरको बजार विस्तार पनि आक्रामक नै देखिन्छ । यस इन्स्योरेन्सको बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा देखिएको छ । शिखरले २० वर्षको समयमा २० अर्ब रुपैयाँ भन्दा बढीको दाबी रकम भुक्तानी गरेको छ । यो अरु बीमा कम्पनीरुको तुलनामा निकै बढी हो ।
कम्पनीले स्थापनादेखि हालसम्म १ लाख भन्दा बढी दाबी संख्याको भुक्तानी गरेको छ । कम्पनीले २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांश प्रदान गरेको छ । कम्पनीको १०० भन्दा बढी शाखा संजाल रहेको छ ।
अरु बीमा कम्पनीसँग मर्जर नगरी बोनस र हकप्रद शेयर जारी गरेर बीमा प्राधिकरणले तोकेको साढे २ अर्बको चुक्ता पूँजी पुर्याउन सफल शिखरको गत नाफामा अत्याधिक वृद्धि देखिएको छ । साथै, खुद बीमा शुल्क संकलन, रिटेन्ड अर्निङ, आम्दानी नेटवर्थ सबैमा सुधार देख्न सकिन्छ । कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ । र, यस कम्पनीको रिटेन्ड अर्निङमा भएको रकमबाट यसले डबल डिजिटमा लाभांश दिन सक्ने देखिन्छ ।
कम्पनीले बिमितलाई बेलैमा दाबी भुक्तानी पनि दिएको छ । गत असोजमा गएको बाढीका कारण बीमा कम्पनीहरुमा अरबौंको दाबी परेको छ । जसमध्ये सबैभन्दा धेरै भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स देखिएको छ । यस इन्स्योरेन्समा बाढी पहिरोका कारण १ अर्ब ५ करोड ६४ लाख रुपैयाँको दाबी परेको छ ।
कम्पनीले २६ करोड ६ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको बीमा प्राधिकरणले जनाएको छ । यो विवरण कार्तिक २८ गतेसम्मको हो । त्यसयताको डाटा सार्वजनिक भएको छैन । प्राधिकरणका अनुसार दाबी भुक्तानी तिर्नेमा सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स परेको छ । कम्पनीले बिमितलाई सहजै भुक्तानी दिएको देखिन्छ । विभिन्न कम्पनीमा बीमा गर्न सहज प्रकृया भएपनि दाबी माग्न भने निकै कठिन हुने गर्छ । तर, कम्पनीले हालसम्म बाढीका कारण क्षतिको दाबी भुक्तानी सहजै गरेको छ । नाफा कमाउनेमा पनि शिखर दोस्रो स्थानमा छ । प्रतिशेयर आम्दानी १७.३६ रुपैयाँ छ ।
शिखरको कस्तो छ वित्तीय अवस्था ?
चुक्ता पूँजी, रिटेन्ड अर्निङ र अदर इक्विटी कति छ ?
शिखर इन्स्योरेन्सले साढे २ अर्ब भन्दा धेरैको चुक्ता पूँजी बोनस शेयर र हकप्रद शेयर मार्फत पुर्याएको हो । जबकि, अरु कम्पनीहरुले मर्जर मार्फत पूँजी वृद्धि गरेका छन् । आर्थिक वर्ष २०७६-७७ मा १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ रहेको शिखरको हालको पूँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ पुगेको हो ।
कम्पनीको रिटेन्ड अर्निङमा ३५ करोड ६१ लाख रुपैयाँ रहेको छ । उक्त रकमले यस कम्पनीले डबल डिजिटमा लाभांश दिन सक्छ । आर्थिक वर्ष २०७९-८० मा ८ करोड ९४ लाख रहेको कम्पनीको रिटेन्ड अर्निङ गत वर्षको असारसम्म ३१ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
शिखरको अदर इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ देखिएको छ । यो आकार पछिल्ला वर्ष लगातार जस्तो बढेको छ । ५ वर्ष अगाडि कम्पनीको उक्त इक्विटीमा ४५ करोड २८ लाख रुपैयाँ रहेको छ ।
बीमा कोष, बीमा शुल्क र दावी भुक्तानी कति छ ?
शिखर इन्स्योरेन्सको बीमा कोषमा ६ अर्ब ६८ करोड ३४ लाख रुपैयाँ देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार उक्त रकम बराबरको कोष देखिएको हो । गत वर्षको असारमा शिखरको बीमा कोषमा ५ अर्ब १५ करोड ५३ लाख रुपैयाँ थियो । २०७६-७७ मा ३ अर्ब १३ करोड देखिएको बीमा कोष अहिले ६ अर्ब भन्दा धेरै पुगेको हो ।
३ महिनामा बीमा शुल्क संकलन २८ करोड २२ लाख रुपैयाँ देखिएको छ । गत वर्षको असारमा यसको उक्त शुल्क संकलन १ अर्ब ५६ करोड थियो । बीमा शुल्क संकलन प्रत्यक वर्ष बढेको छ ।
लगानी र लगानीबाट हुने आम्दानी
शिखर इन्स्योरेन्सको लगानी र लगानीबाट हुने आम्दानीमा पनि पछिल्लो वर्ष वृद्धि देखिएको छ । यसको लगानी ४ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ छ । २०७६-७७ मा कम्पनीको लगानी ३ अर्ब ३ करोड थियो । यता, लगानीबाट हुने आम्दानी १० करोड ३० लाख रुपैयाँ रहेको छ । यो ३ महिनाको आम्दानी हो । गत वर्ष इन्स्योरेन्सको आम्दानी ३३ करोड ४१ लाख रहेको थियो ।
नाफा
शिखर इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा ११ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष कम्पनीले ५१ करोड ३० लाख नाफा आर्जन गरेको थियो । कम्पनीको नाफामा निकै राम्रो सुधार देखिएको छ । २०७९-८० मा २२ करोड ६१ लाख रुपैयाँ रहेको यस कम्पनीको खुद नाफा गत वर्ष भने ह्वातै बढेको छ । लगानीबाट हुने आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।
प्रतिशेयर नेटवर्थ
शिखर इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ हरेक वर्ष बढेको देखिएको छ । यसले कम्पनीको वित्तीय अवस्था थप सुधार हुँदै गएको बुझ्न सकिन्छ । नेटवर्थ २०९.६२ रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १७.३६ रुपैयाँ छ । पूँजीमा वृद्धि भएपनि कम्पनीले नेटवर्थ र इपीएसलाई सन्तुलनमा राखेको छ ।