काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै अर्थ मन्त्रालयले ७८ करोड रुपैयाँ बराबरको आर्थिक सहायता, थप निकासा, रकमान्तर तथा स्रोत सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कात्तिक महिनामा सरकारले १० लाख आर्थिक सहायता, ६७ करोड ४१ लाख थप निकासा तथा १० करोड ७९ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरेको छ ।

गत असोजसम्म अर्थ मन्त्रालयले २ अर्ब ५१ करोड ९९ लाख ६६ हजार रुपैयाँ स्रोतान्तर, रकमान्तर, स्रोत सहमति दिएको थियो । कात्तिकसम्म आर्थिक सहायता, थप निकासा, रकमान्तर तथा स्रोत सहमति दिएको कुल रकम ३ अर्ब ३० करोड ३० लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

मन्त्रालयले ८ करोड ७९ लाख ८३ हजार रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सुधार कार्यक्रममको रकम एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रममा रकमान्तर गरेको हो । त्यस्तै, शहरी विकास मन्त्रालयलाई बस्ती विकास कार्यक्रमको २ करोड रुपैयाँ रकमान्तर गर्न अनुमति दिएको छ । कात्तिकमा २ शीर्षकमा १० करोड ७९ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।

यसैगरी, मन्त्रालयलले कात्तिक महिनामा ६७ करोड ४१ लाख रुपैयाँ थप बजेट निकासा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायतको संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिदाको भ्रमण खर्चको भुक्तानी गर्न परराष्ट्र मन्त्रालयलाई ४ करोड २९ लाख ५८ हजार थप बजेट निकासा गरेको छ ।

त्यस्तै, २०८१ मंसिर १६ मा सम्पन्न हुने स्थानीय तह उप–निर्वाचन २०८१ संचालनका लागि निर्वाचन आयोगलाई २१ करोड ८९ लाख थप रकम, निर्वाचन आयोगको गत आ।ब।को सृर्जित दायित्व भुक्तानी गर्न २८ लाख तथा कर्मचारीको निलम्बन अवधिको तलब भत्ता भुक्तानी गर्ने प्रयोजनार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ५१ लाख ४७ हजार थप रकम रकमान्तर तथा निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मुद्दाको रोहमा वादी(प्रतिवादीले अदालतमा राखेको कोर्ट फि तथा धरौटी वापतको रकम फिर्ता गर्न प्रयोजनार्थ उच्च अदालतहरु र जिल्ला अदालतहरुलाई थप रकम रकमान्तर(निकासा गरेको छ । सर्वोच्च अदालतको फैसला बमोजिम अवकाश कोषबाट उपदान भुक्तानी गर्दा बढी कर कट्टी तथा दाखिला भएको कर रकम सम्बन्धित व्यक्तिहरुलाई फिर्ता गर्ने सम्बन्धमा रकमान्तर तथा थप बजेट निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

यस्तै, सरकारको निर्णय अनुसार संखुवासभा जिल्ला कारागारमा भएको घटनामा परी मृत्यु भएका विनोद तोलांगी र विकास श्रेष्ठ भन्ने (आकाश बलामी) को परिवारलाई ५(५ लाखका दरले आर्थिक सहायता प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।