File Photo

काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोप पत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेशमा पेश गरेका हुन् । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ।

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध पनि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी छ । उनलाई आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब बिगो मागदावी गर्नुपर्ने राय छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनी कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । सूर्य दर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआईजी समेत रहेका छविलाल जोशीलाई काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरेर रातारात पोखरा लगिएको थियो ।