काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा सामान्य सुधार आएको छ । आइतबार नेप्से सूचक ५.३२ विन्दुले बढेर २५९१.५६ अंकमा पुगेको छ । आज बजारमा ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

उक्त दिन बजारमा सुधार आउँदा ७ वटा समूहका सूचक बढेका छन् । भने एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । अहिले नेप्से करिब २६ सय विन्दुको नजिक छ । यद्यपि, २६ सयको लाइनमा भने उक्लिसकेको छैन । सूचकका साथमा कारोबार रकममा समेत बिस्तारै वृद्धि आएको छ ।

अहिले पनि तुलनात्मकरुपमा आधारभूत रुपमा सबल रहेका, वित्तीय सूचकहरू सबल भएका तथा नियमित लाभांश बाँड्दै आएका कम्पनीहरूको भाउ भने निकै तल्लो विन्दुमा कायम छ । यता, आम लगानीकर्ताले भने सबल वित्तीय सूचक भएका, लगातार लाभांश दिएको वा दिन सक्ने, संस्थागत सुशासन अब्बल रहेका कम्पनीहरूमा सकेसम्म लामो समय होल्ड गर्ने ढंगले लगानी गर्न अनुभवीहरूले सुझाव दिने गरेका छन् ।

यस दिन ३ सय २७ कम्पनीको ९३ लाख ८६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । विकास बैंकको ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६० प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३९ प्रतिशत, जीवन बीमा समूहको ०.२७ प्रतिशतले शेयर मूल्य बढेको छ । कारोबार रकममा जानकी फाइनान्स, रसुवागढी हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी क्रमशः अग्रस्थानमा रहेका छन् ।