काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्य योजना पार्टीमा प्रस्तुत गरेका हुन् । पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यससम्बन्धी व्यवस्थामा भनिएको छ, ‘केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ।’
साथै, प्रत्येक वर्ष पार्टी केन्द्रीय समितिका सदस्यहरूले सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव समेत कार्य योजनामा सामेल गरिएको छ । जनप्रतिनिधि र राजनीतिक नियुक्ति लिएका व्यक्तिले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने प्रस्ताव कार्य योजनामा राखिएको छ ।
सरकारमा सहभागी भएका, संघीय सांसद तथा प्रदेश सभाका सदस्य रहेका उच्च तहको राजनीतिक नियुक्तिको जिम्मेवारीमा रहेका कमरेडहरूले जिम्मेवारी पाएका एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने छ र सेवा अवधिभर हरेक वर्ष अद्यावधिक गर्नुपर्ने कार्य योजनामा उल्लेख गरिएको छ ।






