काठमाडौं । सन् २००६ को जुनमा अमेरिकामा एक व्यक्तिले आफ्नो सबै सम्पत्ति दान दिने घोषणा गर्दछन् । उक्त दान संयुक्त राज्य अमेरिकाको इतिहासमा सबैभन्दा ठुलो दान मानिन्छ । सायद यति वेला सम्म तपाईँले ती दान गर्ने व्यक्ति को हुन भनेर अन्दाज लगाइसक्नुभयो होला । ती व्यक्ति हुन्– वारेन बफेट। उनले आफूले जिन्दगीभर कमाएको आफ्नो सम्पूर्ण सम्पत्ति दान गर्ने घोषणा गरेका थिए । जसको ८५ प्रतिशत बिल र मेलिन्डा गेट्स फाउन्डेसनलाई दिने घोषणा बफेटले गरेका थिए। यसका साथै बफेटले सन् २०१० मा बिल गेट्ससँग मिलेर सामाजिक कार्यमा लाग्नका लागि ‘द गिभिङ प्लेज’ नामक अभियान नै सुरु गरेका थिए ।
को हुन् वारेन बफेट ? 
बफेटको पुरा नाम वारेन एड वर्ड बफेट हो । उनी विश्वको सबैभन्दा धनी र अमेरिकी समाजसेवी तथा व्यापारी हुन् । बफेटको जन्म अगस्त ३०, १९३० मा ओमाहा, नेब्रास्कामा भएको थियो । उनका बुबा होवार्ड बफेट स्टक ब्रोकरको रूपमा काम गर्थे । उनकी आमा लीला स्टाहल बफेट एक गृहिणी थिइन्। बफेट तीन सन्तान मध्ये दोस्रो र एक मात्र केटा थिए । उनी बाल्यकालबाट नै आर्थिक र व्यापारिक मामिलामा एकदमै प्रतिभाशाली थिए ।
पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कुलबाट पढाई आरम्भ गरेका वारेनले नेब्रास्का विश्वविद्यालयबाट स्नातक गरेका थिए । यस्तै उनले सन् १९५१ मा कोलम्बिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । कोलम्बियामा उनलाई लगानीमा ‘भ्यालु इन्भेस्टमेन्ट’ सिद्धान्तका प्रतिपादक बेन्जामिन ग्राहमले पढाएका थिए । गुरुको सोही ‘भ्यालु इन्भेस्टमेन्ट’ को सिद्धान्तलाई उनले आफ्नो लगानी करिअरमा सफलतापूर्वक प्रयोग गरे ।
बफेट संसारका सबैभन्दा सफल सेयर बजार लगानीकर्ताका रुपमा समेत चिनिन्छन् । ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार बफिटको कुल सम्पत्ति १ खर्ब ३५ अर्ब अमेरिकी डलर रहेको छ । उनी सांसरका १० औँ धनाढ्य व्यक्ति समेत हुन् । उनी अहिले ९४ वर्षका छन् ।

सन् १९५० को दशकका केही वर्ष आफ्नै बाबुको बफिट–फाल्क कम्पनीमा लगानी बिक्रेताको काम गरेका उनले सन् १९५४ मा उनै बेन्जामिन ग्राहमको ग्राहम–न्युम्यान कम्पनीमा सुरक्षा विश्लेषकको कामसमेत गरेका थिए । आफ्नो लगानीयात्राका शुरुवाती चरणमा बफिटले सरकारी कर्मचारीको बीमा संस्था (गेइको) र रकउडजस्ता कम्पनीको शेयर खरिद गरेका थिए । शेयरमा लगानी सफल हुँदै जाँदा उनले सन् १९५६ मा बफिट एसोशिएट्स नामक लगानी व्यवस्थापन कम्पनी स्थापना गरेका थिए ।

अङ्ग्रेजी पत्रिका बायोग्राफी डट कमका अनुसार बफेटले ११ वर्षको उमेरमा नै प्रति शेयर ४३८ मा सिटी सर्भिस प्रिफर्डको तीन सेयर खरिद गरेर आफ्नो पहिलो लगानी गरेका थिए । बजारमा घटबढ देखिएपछि उनले थोरै मुनाफामा आफ्नो शेयर बेचेका थिए । तर जब सिटी सर्भिसको शेयर प्रति शेयर २०० डलर पुग्यो, उनले आफ्नो निर्णयलाई पछुताएका थिए । उनले पछि यो अनुभवलाई लगानीमा धैर्यताको प्रारम्भिक पाठको रूपमा वर्णन गर्ने गरेका छन् । त्यसपछि भने उनले जीवनमा धेरै सफलता प्राप्त गरेका छन् । जसका कारण उनलाई पछाडि फर्केर हेर्नुपर्ने आवश्यकता छैन । उनी अहिले फोब्सको टप १० करोडपतिको सुचीमा सूचीकृत छन् ।

बफेटले गरेका छन् यी कम्पनीमा लगानी ?

बफेटले मिडिया, बीमा, ऊर्जा, र खाद्य र पेय उद्योगहरूमा ठुलो लगानी गरेका छन् । सन् १९५६ मा, बफेटले आफ्नो गृह नगर ओमाहामा बफेट पार्टनरसिप लिमिटेड नामक फर्म स्थापना गरेका थिए । यस्तै आफूले सिकेका प्रविधिहरू प्रयोग गरेर कम मूल्यवान कम्पनीहरू पहिचान गरी लगानी गर्दै उनी एक सफल तथा करोडपति व्यक्ति बन्न सफल भए । बफेटले ‘बर्क शायर ह्याथवे’ नामक एक कपडा कम्पनीमा लगानी गरे । पछि उनले उक्त कम्पनीलाई खरिद गरेका थिए । यसका अतिरिक्त उनले मिडिया (द वासिङ्टन पोस्ट), बीमा(जीईआईसीओ) र तेल (एक्सोन) जस्ता कम्पनीमा समेत लगानी गरेका छन् ।

बायोग्राफीका अनुसार बफेटको कम्पनी बर्क शायर ह्याथवेको कोका–कोलामा पनि ठुलो लगानी रहेको छ । पछि बफेट १९८९ देखी उक्त कम्पनीको निर्देशक समेत बनेका थिए । यस्तै उनले सिटी ग्रुप ग्लोबल मार्केट होल्डिङ्स, ग्राहम होल्डिङ्स कम्पनी र द जिलेट कम्पनीको निर्देशकको रूपमा पनि काम गरिसकेका छन्।

यस्तो छ उनको जीवनशैली

बफेटओमाहा, नेब्रास्कामा आफ्नो परिवारसँग बस्ने गर्छन् । उनी विलासी कार पनि चढ्दैनन् । म्याकडोनाल्ड्समा नास्ता खान्छन् भने बफेटले कोक धेरै पिउने गर्छन् । सीएनएन संग गरेको एक कुराकानीमा उनले धेरै घर किन्ने, धेरै कार चढ्ने रहर आफूलाई कहिल्यै नलागेको बताएका थिए । उनी पहिले लिंकन टावर कार २००१ चढ्थे । त्यो कार उनले लिलाम गरिदिए । त्यसपछि काडिलाक डीटीएस २००६ चढ्न थाले । पछि सन् २०१४ मा उनले काडिलाक एक्सटीएस किने । उनले लामो समय २० डलरमा किनेको सामसुङको फ्लिपफ्लप फोन चलाउँथे । पछि मात्र उनले आईफोन बोक्न थालेका थिए ।