काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले संसद् छलेर सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा फेल हुने बताएका छन् ।

आज बुधवार धनगढीमा आयोजित एक कार्यक्रममा पुनले यस्तो बताएका हुन् । उनले भूमिहीनहरूलाई जग्गा दिनु, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नु ठिक भएपनि संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि माफिया र वन माफियाको चलखेल छ भन्ने आंशका जन्माएको बताएका हुन् ।

यस्तै नेता पुनले गिरीबन्धु टी–स्टेजस्ता हदबन्दी माथिका केसलाई आफू अनुकूल लैजाने सरकारले चलखेल गरेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अध्यादेशमार्फत शासन गर्न तल्लीन रहेको भन्दै संसद्सँग डराएर सरकारले संसद्को मानहानि गरेको समेत आरोप पुनको छ ।

उनले प्रधानमन्त्री ओलीले विगतको संसद् विघटन प्रवृत्ति प्रवृत्ति दोहोर्याउन सक्ने आशङ्का गर्न सकिने समेत बताए ।