काठमाडौं । भारतको बिमा नियामक तथा विकास प्राधिकरण (आइआरडीएआई) ले ‘बिमा-आस्बा’ नामक नयाँ भुक्तानी संयन्त्रमार्फत इन्सुरेन्स प्रिमियम भुक्तानी गर्न मिल्ने व्यवस्था सुरु गरेको छ ।

भारतमा अब इन्सुरेन्स पोलिसिको भुक्तानीका लागि पनि खातामै रकम रोक्का हुने प्रणाली सुरु भएको हो । भारतको भुक्तानी प्रणाली युजर पेमेन्ट इन्टरफेस (युपीआई) को माध्यमबाट बिमा-आस्बाको प्रयोग गर्न सकिने इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

बिमा-आस्बामार्फत जीवन र स्वास्थ्य बीमा पोलिसिहरुको भुक्तानी प्रक्रियालाई सुव्यवस्थित गर्ने लक्ष्य राखिएको हो । आइआरडीएआईले मंगलबार जारी गरेको परिपत्र अनुसार यस प्रणालीले पोलिसिधनीहरुलाई प्रिमियम भुक्तानीको लागि आफ्नो बैंक खातामा रकम ब्लक गर्न अनुमति दिने बताइएको छ । यद्दपि, बिमा पोलिसि जारी भएपछि मात्र सम्भावित ग्राहकबाट बिमकलाई उक्त रकम स्थानान्तरण हुने बताइएको छ ।

यस सुविधामा बिमकहरुले सम्भावित बिमितको बैंक खातामा युपीआईमार्फत निश्चित रकम ब्लक गर्न एक पटकको म्यान्डेट प्रस्ताव गर्न सक्ने आइआरडीएआईले जनाएको छ ।