काठमाडौं । भारत सरकारले पछिल्लो समय नयाँ नीति लिएको छ । त्यहाँको सरकारले अपनाएको नयाँ नीति बीमासँग सम्बन्धित छ भने त्यसले बीमा गराउँने वृद्धहरुको संख्या बढाएको हो ।
केही महिना अघि भारत सरकारले ६५ वर्ष नाघेका वृद्धहरुलाई पनि बीमामा समावेश गराउँने नीति अघि सारेको थियो । सोही नीति अनुसार त्यहाँका बीमा कम्पनीहरुले काम गर्दा भारतमा बीमा गराउँनेहरुको संख्या ह्वात्तै बढेको पाइएको छ । जानकारहरुका अनुसार त्यस्तो संख्यामा करिब २० प्रतिशतको दरले बढेको छ ।
भारतमै चर्चामा रहेका केही बीमा सम्बन्धिका पत्रिकाहरुले समेत ६५ वर्षको सिलिङ तोड्नुले नयाँ नतिजा ल्याउँने आँकलन गरेका थिए । त्यस्तै बीमामा जहिले पनि उमेरहद, बीमाशुल्क तथा बीमाले गर्ने कभरेज तथा बीमांक बीमा गरिने रकमको आकारले ठूलो महत्व राख्छ ।
यता नेपालमा भने वृद्धहरुको बीमालाई त्यति धेरै महत्व दिने गरेको पाइदैन । एक त नेपालमा बीमा योग्य जनसंख्यामा यूवाहरुलाई महत्व दिइरहेको बेलामा बिस्तार बिस्तार मात्रै बीमाको पहुँच बढेको अवस्था छ । अर्को कुरा भनेको दाबी भुक्तानीलाई अझै छिटो छरितो बनाउँनु पर्ने माग बीमितहरुको पक्षबाट उठिरहन्छ ।
यता बीमा क्षेत्रका जानकारहरुले नेपाल र भारतको तुलना गर्दा औसत आयुमा फरक पर्ने र सोही आधारमा बीमा योजनाहरु तय हुने बताएका छन् । बीमा बजारले माग गरे अनुसारका नयाँ नयाँ प्रोडक्ट ल्याउँन सकेमा नेपाली बीमा बजारमा पनि बीमाको पहुँच, आकर्षण बढ्दै जाने उनीहरुको आँकलन छ । त्यस्तै, कतिपय सूचकहरुलाई आधार मान्ने हो भने नेपाली बीमा क्षेत्रको अवस्था दक्षिण एशियामा नै राम्रो अग्र–स्थानमा आउँने गरेको नेपाल बीमा प्राधिकरणले पनि बताउँदै आएको छ ।
नेपालमा वृद्धहरुको बीमा हुने नहुने भन्दा पनि त्यही वृद्ध अवस्थालाई नै मध्यनजर गरेर जेष्ठ नागरिकहरुले पाउँने बीमाको प्रतिफलमा राम्रा सुविधा दिइएको नेपाली बीमा कम्पनीहरुको भनाई छ । उनीहरुले नेपालमा बीमितले पाउँने प्रतिफल दोब्बर हुने, पेन्सन पाइने लगायतका सुविधाहरु रहेको बताए छन् । हाल नेपाली बीमा कम्पनीहरुले नागरिकहरुले माग गरे अनुसारको बीमालेख बनाउँन आफुहरुले खोजी गर्दै आएको र नेपाल बीमा प्राधिकरणले पनि बजार सुहाउँदो सिर्जनात्मक प्रोडक्लाई स्वीकृती दिन कुनै पनि समस्या नरहेको बताउँदै आएको अवस्था छ ।







