काठमाडौँ ।  काठमाडौँ उपत्यकाको प्रमुख व्यापारिक केन्द्र हो, न्यूरोड। न्यूरोड अब काठमाडौँको मात्रै भएन बरु मुलुककै मुख्य व्यापारिक केन्द्रको रूपमा स्थापित भएको छ ।

अहिले व्यापारिक हब को रूपमा विकास भएको न्युरोडको आफ्नै ऐतिहासिक महत्त्व छ। राणाकालीन अवस्थामा समेत न्यूरोडको चर्चा र महिमा उत्तिकै सार्थक र पृथक थियो । राणा प्रधानमन्त्री जुद्ध शमसेरको पालामा न्यूरोड मौलिक थियो ।

घरहरूमा सेतो रङ्ग लगाइएको हुन्थ्यो भने झ्याल ढोकामा हरियो रङ्ग लगाइएको हुन्थ्यो। घरहरू पनि प्रायः एकैनासका, बेलायती शैलीका हुन्थे । जुद्ध शमसेरको पालामा न्यूरोड खास थियो भन्ने कुरा अहिले पनि न्यूरोडको मुख्य चोकमा जुद्ध शमसेरको सालिक हुनुले पुष्टि गर्छ।

जुद्ध शमसेरको शासन कालमै न्युरोड नदेखे पनि काठमाडौँ महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राज भण्डारीले  जुद्ध शमसेरको पालमा बनेका घरको स्वरूप भने देखेका अनुभव सुनाउँछन् ।

समय क्रमसँगै जुद्ध शमसेरको पालाको न्यूरोड फेरियो । बेलायती शैलीका घरहरू भत्काएर आधुनिक घरहरू बन्न थाले । काठका कलात्मक झ्याल र ढोकाको सट्टा अन्य किसिमका झ्याल र ढोका राखेर घरहरू बन्नक्रम तीव्र रूपमा अगाडि बढ्यो। रङ्ग रोगन पनि विविध किसिमको हुन थाल्यो ।

यी सबै कुरालाई देखेका वडा अध्यक्ष राज भण्डारीले केही हद सम्म भए पनि पुरानै स्वरूपमा लैजाने उद्देश्यले न्युरोनवासीसँग एकै नासको रङ्ग लगाउने प्रस्ताव राखे। सोही प्रस्तावलाई स्थानीयले स्वीकार गरिदिए र अहिले न्यूरोडका घरधनीहरूले आआफ्नो घरमा सेतो रङ्ग लगाउन थालेका छन्।

जसले गर्दा केही हदसम्म भए पनि पुरानै मौलिकता तर्फ फर्किएका महसुस भएको छ। न्यूरोडको मुहार फेरिएको छ ।