काठमाडौँ । सरकारले दुई वर्षदेखि रोकिएको बीमा नियमावली २०८१ स्वीकृत गरेसँगै बीमा क्षेत्रमा अड्किएका कामहरू अघि बढ्ने अपेक्षा गरिएको छ। तर, बीमा नियमावलीमा भएको केही नीतिगत व्यवस्थाप्रति पेसागत बीमा अभिकर्ता सङ्घले भने आपत्ति जनाउँदै आएको छ ।

बीमा अभिकर्ताहरूको लाइसेन्स नवीकरण गर्दा बीमितले बीमा पोलिसी नवीकरण गरेको आधारमा हुने सम्बन्धी गरेको नयाँ व्यवस्था आपत्तिजनक भन्दै संघले आपत्ति जनाउँदै आएको छ । सोही सन्दर्भमा आर्थिक भ्वाइसले बीमा अभिकर्ता कल्याण विक्रम पाण्डेलाई पछिल्लो गतिविधिका विषयमा सोधेको छ । प्रस्तुत छ पाण्डेको धारणा ।

पहिलो विषय त हामी बीमा अभिकर्ताहरूको लाइसेन्स नवीकरण गर्दा बीमालेख शतप्रतिशत नवीकरण भएको प्रमाण पेस गरेपछि मात्रै बीमा अभिकर्ताको लाइसेन्स नवीकरण हुने सम्बन्धी गरेको व्यवस्थाप्रति सुरुदेखि नै आपत्ति जनाएका छौ र अहिले पनि हामी यो विषयमा स्थिर छौ हाम्रो माग डगमगाएको छैन ।

बीमाको क्षेत्रमा जुन अन्तर्राष्ट्रिय स्तरमा समेत अभ्यास भएको छैन त्यस्तो आपत्तिजनक व्यवस्था यहाँ लागु गर्न खोजिएको छ । यसलाई तुरुन्त संशोधन गरिनुपर्छ भन्ने हाम्रो माग हो यो मागप्रति हामी अडिग छौ ।

पछिल्लो अपडेटको कुरा गर्ने हो भने यो विषयमा हामीलाई अध्यक्ष जी ले नै समय दिनुस् अध्ययनका लागि भनेका कारण हामीले त्यो समय दिएका थियौ, तर यो बिचमा कुनै समन्वय र छलफलको निमित्त आह्वान गरिएको अवस्था छैन । यसकारण हामी यही फागुन २८ गतेको बिहान केन्द्रीय समितिको बैठक आह्वान गरेका छौ ।

बीमा प्राधिकरणका अध्यक्ष अध्यक्षले सोही दिनको २ बजेको समय दिनुभएको छ । हामी त्यो समयलाई निकै महत्त्वपूर्ण समयको रूपमा र निर्णायक रूपमा हेरेका छौ त्यो बैठकले हाम्रो माग र आपत्तिको सुनुवाइ गर्छ भन्ने हाम्रो अपेक्षा हो । त्यसदिन अध्यक्षको प्रस्तुति र विषयवस्तुप्रतिको गम्भीरतालाई आधार मानेर हामीले आगामी यात्रालाई तय गर्ने निर्णय गर्ने छौ। हामीलाई आशा छ अध्यक्ष जी ले उक्त गम्भीर विषयमा गहिरोगरि विश्लेषण गर्नुभएको छ भनेर यद्यपि उहाँबाट समेत फितलो र गैर जिम्मेवारी मूलक जवाफ आयो भने हामी नयाँ एक्सनको जान्छौ र आन्दोलनको घोषणा गर्छौ ।

बीमित सिधै बीमा कम्पनीमा गएको खण्डमा ५० प्रतिशत सिधै छुट पाउने भन्ने जुन व्यवस्था लागु गर्न खोजिएको छ यो सरासर आपत्तिजनक र बीमा अभिकर्तालाई निरुत्साहित बनाउने पोलेसी छ । आजको बीमा बजार ठेकेको बीमा अभिकर्ताको कारण हो । हामीले साझ बिहान, दिन रात नभनेर यसको बजारीकरण गर्न जोडबल गर्ने अनी अन्तिममा आएर हामी नै ओझेल पर्ने हो भने यो कसरी उपयुक्त हुन सक्छ ?

हाम्रो पनि गाँस, बास, र कपाससँग जोडिएको विषय हो । हामीले पनि परिवार पाल्नुपर्ने छ , बाच्नुपर्ने छ , जीवनमा आइपर्ने सबै समस्याको समाधान यही व्यवसाय मार्फत गर्नु छ  । आफ्नो पुरापुर समय यही पेसाको बिस्तार र बजारीकरणका लागि दिने अनि सोही दुख बापत पाइने थोरै पारिश्रमिकको विषय छ त्यो सिधै पाखा लगाइदिन खोज्ने यो कसरी उपयुक्त हुन सक्छ? यो हामी अभिकर्ताका लागि सह्य विषय छैन । हामीलाई पलायन गर्न खोजिँदै छ यो हामी हेरेर बस्ने वाला छैनौ ।

विश्वका ठूला ठूला देशमा समेत अभिकर्ता बाहेक बीमा हुन सक्दैन, तर नेपालको हकमा एजेन्टहरुलाई निरुत्साहित गर्ने काम भएको छ । यो निकै षड्यन्त्रपूर्ण ढङ्गले ल्याएको हामीले सूचना पाएका छौ । सीमित व्यक्ति वा व्यवसायीको स्वार्थको लागी हामी अभिकर्ताको सपना र भविष्यमाथि नै तुसारापात गर्ने काम भयो भने यो हाम्रो लागी शैय हुनेछैन हामी यसको प्रतिकार गछौ, आपत्ति जनाई रहन्छौ ।

नियमावलीले बीमा अभिकर्ताको पेशा नै धरापमा पार्ने काम गरेको छ । अभिकर्ता पेसालाई नै निरुत्साहित गर्ने गरेर आएको नियमावली संशोधन हुनुपर्छ । तत्काल संशोधन नभएर हामी आन्दोलनमा जान्छौँ यसको अर्को विकल्प हुन सक्दैन र छ भन्ने नै हामीलाई लाग्दैन ।

हामीलाई प्राधिकरण र सम्बन्धित निकायले पटक पटक आशा देखाएका छन् । हामीले कुरैकै २८ गतेलाई हो  त्यो दिन हाम्रो लागी निर्णायक हो, त्यसले हाम्रो असन्तुष्टिहरूको वारपार लाउँछ र सोही अनुसार अगाडि बढिन्छ भन्ने हाम्रो योजना रहेको छ । प्राधिकरणका साथीहरू मध्ये पनि कसको भूमिका कस्तो छ , कहाँ उपस्थिति कस्तो छ भन्ने हामीले नजिकबाट महसुस गरेका छौ । देशभरका अभिकर्ता साथीहरू हामीलाई आन्दोलनको लागि तयारी गर्नुस् भनेर देशव्यापी रूपमा भनेका छन् । यसकारण हामीले सोही दिनको छलफल पश्चात थप योजना बनाउनेगरि सोचेका छौ ।