काठमाडौँ । लामो समययता बढ्न नसकेको रियल इस्टेट (घरजग्गा) शीर्षकको कर्जा बढ्न थालेको छ। चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउन–फागुन)मा रियल इस्टेट शीर्षकको कर्जा ८.२ प्रतिशतले बढेको छ।
गत वर्षको सोही अवधिमा यस्तो वृद्धि ०.५ प्रतिशत ऋणात्मक थियो । गत वर्ष रियल इस्टेट शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरूबाट नयाँ कर्जा प्रवाहभन्दा बढी पुरानो कर्जा असुली भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार आठ महिनाको अवधिमा रियल इस्टेट शीर्षकमा २२ अर्ब नौ करोड रुपैयाँ कर्जा थपिएको छ । गत वर्षको सोही अवधिमा एक अर्ब ३० करोड ऋणात्मक थियो ।
त्यस्तै, रियल इस्टेट कर्जा बढ्न थाल्दा व्यक्तिगत आवासीय शीर्षकको कर्जा प्रवाह भने सुस्त बनेको तथ्यांकमा उल्लेख छ । गत वर्षको पहिलो ८ महिनामा व्यक्तिगत आवासीय रियल इस्टेट कर्जा १०.४ प्रतिशतले थपिएकोमा यस वर्षको सोही अवधिमा ४.४ प्रतिशतले मात्र वृद्धि देखिन्छ।
आठ महिनाको अवधिमा व्यक्तिगत आवासीय कर्जा १६ अर्ब ८६ करोड रुपैयाँ थपिएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३६ अर्ब ३५ करोड रुपैयाँले बढेको थियो । यस वर्ष व्यक्तिगत आवासीय र रियल इस्टेट कर्जा समग्रमा बढेको देखिन्छ।आठ महिनाको अवधिमा व्यक्तिगत आवासीय र रियल इस्टेट कर्जा कुल ३८ अर्ब ९६ करोड प्रवाह भएको छ ।
गत वर्षको सोही अवधिमा ३५ अर्ब पाँच करोड रुपैयाँ प्रवाह भएको थियो । रियल इस्टेट शीर्षकतर्फ रेसिडेन्सियल रियल इस्टेट (२ करोडसम्मको व्यक्तिगत आवासीय कर्जाबाहेक) र जग्गा खरिद तथा प्लटिङ कर्जाको वृद्धिदर ऋणात्मक देखिन्छ।
अन्य शीर्षकमा मात्रै १७ अर्ब ४७ करोड रुपैयाँ कर्जा थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। ग्राहकले कुनै स्पेसल प्रयोजन नखुलाई लिएको ५० लाखभन्दा माथिको घरजग्गा कर्जा दुई अर्ब २५ करोडले बढेको छ।







