काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ आगामी बिहीबार (वैशाख ११ गते) बाँडफाँट हुने तय भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार वैशाख ११ गते बिहीबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धकले जनाएअनुसार आइपीओ बाँडफाँटको समय भने तय भएको छैन ।
आवेदकहरूले पियोर इनर्जीको आइपीओ हात पार्न भाग्यकै भर पर्नु पर्नेछ । यसमा माग गरिएकोभन्दा १९.२८ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुँदा १ लाख १९ हजार ५२० जनाले मात्र शेयर हात पार्ने छन् । यसमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् ।
बाँकी १८ लाख १६ हजार ५३३ जनाको भने हात खाली हुनेछ । पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । केयर रेटिङ नेपालले २०८१ भदौ १३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ साउन २० गतेसम्म बाहल रहनेछ ।