काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री समेत रहेका मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अनुसन्धानले १७ वर्ष कैद सजाय दाबी गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ रुपैयाँ भ्रष्टाचार भएको भन्दै उक्त रकम बराबरको बिगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियारले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (ज) अनुसार सजाय माग गरेको छ। सो दफामा एक करोडभन्दा धेरै बिगो भएको मुद्दामा १० देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ।
त्यस्तै, बस्नेतविरुद्ध दफा २४ को अभियोग पनि लिइएको छ। जसअनुसार उनी विरुद्ध तीन अर्ब २१ करोड जरिवाना १७ वर्षसम्म कैद सजाय माग गरिएको छ। उनीसहित १६ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो। उता भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।
अख्तियारले बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद निलम्बित भएको हो । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।






