काठमडौं । सान्भी इनर्जी लिमिटेडले आजदेखि (जेठ ९ गते) सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जेठ ९ देखि १३ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको हो।

कम्पनीको आईपीओ बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्काशन गर्न लागेकोमा म्युचुअल फन्ड, प्रभावित स्थानीय, कर्मचारी, वैदेशिक रोजगारमा रहेकालाई छुट्याइ सकेपछि बाँकी रहेको २४ लाख १५ हजार ३ सय कित्ता सेयर सर्वसाधारणमा जारी हुन लागेको हो ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । कम्पनीले इलामको सूर्योदय नगरपालिकास्थित जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ लागतमा तयार भएको आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ । यो आयोजनाबाट कम्पनीले आम्दानी गरिरहेको छ ।