काठमाडौँ । चालु आवको १० महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले साढे ३५ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा निर्जीवन बीमकहरुले ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ प्रिमियम भित्र्याएका हुन् ।

निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा ६.७६ प्रतिशतले बढी हो । गत आवको वैशाख मसान्तसम्म निर्जीवन बीमकहरुले ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए। यस अवधिमा सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरले सो अवधिसम्म ४ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको तुलनामा ३.१० प्रतिशत बढी हो।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १० महिनाको अवधिमा सगरमाथा लुम्बिनीले ४ अर्ब ४ करोड, सिद्धार्थ प्रिमियरले ३ अर्ब ४७ करोड, हिमालयन एभरेष्टले ३ अर्ब ८ करोड, आइजीआई प्रुडेन्सियलले ३ अर्ब २ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड, एनएलजीले २ अर्ब ४२ करोड, दि ओरियन्टलले २ अर्ब २५ करोड, सानिमा जिआइसीले २ अर्ब ९ करोड, युनाइटेड अजोडले २ अर्ब ९ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

त्यस्तै, बाकी रहेका प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १६ करोड र नेशनल इन्स्योरेन्सले ९२ करोड ९९ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।

प्रस्तुत विवरण अनुसार गत आवको तुलनामा ४ बीमा कम्पनीको व्यवसायमा गिरावट आएको छ भने बाँकी १० कम्पनीको बढेको छ । सर्वाधिक व्यवसाय बढाउनेमा दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीको व्यवसाय ३७.११ प्रतिशतले बढेको छ । त्यस्तै, यता एनएलजी इन्स्योरेन्सले पनि १८.८९ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ ।  व्यवसाय घट्नेमा युनाइटेड अजोड, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स रहेको  प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।