काठमाडौँ । बर्खा सुरु भएसँगै आएको वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी तथा पहिरो गएको छ। बाढी, पहिरोले गर्दा देशभरका विभिन्न ठाउँमा राजमार्गहरू अवरुद्ध भएका छन् ।

बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध रहेका छन्। लगातारको पानीले पहिरो जाँदा विभिन्न राजमार्गमा पर्ने सडक बन्द छन् । जसमध्ये केही सडक मर्मतपछि एकतर्फी खुलेका छन् भने केही पूर्णरुपमा अवरुद्ध रहेका छन् ।

सक्रिय मनसुनका कारण पहिरो र बाढीले अरनिको, पूर्व–पश्चिम राजमार्ग लगायतका मुख्य सडकहरू अवरुद्ध भएका छन्। सबैभन्दा बढी प्रभावित अरनिको राजमार्ग भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका तीन फरक स्थान— वडा नं.२ को कोदारी र कोप्लाङ तथा वडा नं.३ को लार्छामा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी पूर्व–पश्चिम राजमार्ग पनि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।