काठमाडौँ । पछिल्लो केही कारोबार यता शेयर बजारमा लगातार वृद्धि आएको छ । यसअघि लामो समयसम्म सुस्त बनेको शेयर बजारमा केही दिनदेखि भने क्रमिक रूपमा सुधार देखिएको छ । विशेषतः यो साता सेयर बजारमा लगातार पाँचौँ दिनसम्म वृद्धि देखिएको छ ।

हाल बजार घट्ने कुनै विशेष कारण नभए पनि निरन्तर रूपमा आएको गिरावटको कारण लगानीकर्ताको आत्मबल घट्दै गएको थियो । निरन्तर रूपमा बजारमा आएको गिरावटका कारण लगानीकर्ता पर्ख र हेर को अवस्थामा थिए । तर अब भने बजारले आफ्नो गति बढाउन थालेसँगै लगानीकर्ता हौसिएको देखिएको छ । शेयर बजारको बढोत्तरी र आगामी यात्राबारे आर्थिक भ्वाइसले शेयर लगानीकर्ता राजन लम्साललाई सोधेको छ ।

लम्सालका अनुसार नेप्सेले आफ्नो करेक्सन यात्रा सकेर बिस्तारै उकालो लाग्न थालेको विश्लेषण गरेका छन् । लम्सालले लामो समयसम्म सुस्त रहेको बजारमा फेरि सुधारको यात्रा सुरु भएको भएपनि आगामी हप्तामा फेरि सप्लाई प्याटन आउने सम्भावना बढी रहेको बताएका छन् । उनले सप्लाई हुदाँ वित्तिकै बजार डाउन हुने विगतको रूपरेखा रहेको कारण यसले आगामी हप्तादेखि बजारमा फेरि करेक्सनको सम्भावना रहेको बताएका छन् ।

साथै, बैंकहरुमा अधिक तरलताको स्थिति रहेको र ब्याजदर निकै सस्तो विन्दुमा झरेको कारण बजार तत्काल धेरै बढ्ने र घट्नेको अवस्थामा नरहेको बताएका छन् । बजार गिरावटको मुख्य कारण नै क्लोजिङको असर भएको उल्लेख गर्दै अब सेयर बजारको सिजन सुरु हुने भएकाले लगानीकर्ता केही उत्साहित बन्न थालेको र एक हप्ता पश्चात् बजारमा पुन बढोत्तरी आउने लम्सालको भनाई छ ।

त्यसका साथै, लगानीकर्ताहरू आगामी मौद्रिक नीति र सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको पर्खाइमा रहेका उनको धारणा छ ।  यी दुई कुराहरूले पनि साथ दिएमा सेयर बजारको गति थप सकारात्मक हुनसक्ने अपेक्षा गरिएको उनको भनाई छ । शेयर बजार हतारको खेल नभएको भन्दै यसका लागी पर्याप्त धैर्यता हुनुपर्ने लम्सालको भनाई छ ।