काठमाडौँ । वाणिज्य बैंकहरुले आजदेखि (साउन १) लागु हुने गरी निक्षेपको ब्याजदर घटाएका छन्। कूल २० वटा वाणिज्य बैंकमध्ये व्यक्तिगत मुद्दतीतर्फ निक्षेपमा १६ वटाले ब्याज घटाएका छन् भने ४ वटा वाणिज्य बैंकले असारकै ब्याजदरलाई कायम राखेका छन् ।
साउन महिनाका लागि पनि बैंकले व्यक्तिगत निक्षेपमा व्याज बढाएका छैनन् । साथै, संस्थागत निक्षेपतर्फ ११ वटा बैंकले ब्याजदर घटाएका छन् भने ८ वटा बैंकले असार महिनाकैलाई निरन्तरता दिएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट नीतिगत दर ५ प्रतिशतबाट ४.५ प्रतिशत, बैंकदर ६.५ प्रतिशतबाट ६ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको थियो। राष्ट्र बैंकको नीतिको प्रभाव बैंकको ब्याजदरमा पनि परेको हो ।
साउन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ प्रभु बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत, एभरेस्ट बैंक र एनआईसी एसिया बैंकले ब्याज ५.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ३.१ प्रतिशत, नबिल बैंक ४.०५ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ४.२५ प्रतिशत ब्याज, लक्ष्मी सनराइज बैंकले ४.५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.३५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
विस्तृतमा हेर्नुहोस्








