काठमाडौँ। कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८२ वैशाख २१ देखि सञ्चालन भएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो।

जस अनुसार, कुल परीक्षार्थीमध्ये नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। ३८.८३ प्रतिशत भने ननग्रेडेड भएका छन्। त्यस्तै आंशिकतर्फ ३६.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

साथै, कक्षा १२ को परीक्षामा ५ लाख १० हजार ९८७ परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिक १ लाख १४ हजार ६४० परीक्षार्थी थिए। ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौँबाट ६८ हजारले परीक्षा दिएका थिए।

शैक्षिक क्यालेन्डरअनुसार साउन १५ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने भए पनि शिक्षक आन्दोलनका कारण ढिलाइ भएको बोर्डले जनाएको छ। त्यस्तै, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ।