काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थामा अधिक तरलता कायम रहेसँगै नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीबाट ६० अर्ब निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले भदौ महिनाको पहिलो दिन आज ३१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले आज ३ः०० बजेसम्म अनलाइन मार्फत आवेदन दिन पाउनेछन् ।

साथै, यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असोज १ गते हुनेछ। यस्तै, यसमा इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।