काठमाडौँ । नेपाल टेलिकमले हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले भू–धरातलीय हिसाबले दुर्गम मानिने क्षेत्रमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गरेको हो।

यसअघि पिसाङ, डावल, टंकी मनाङ र खाङसार क्षेत्रमा भी–साट प्रविधिबाट टूजी सेवा मात्र सञ्चालन हुँदै आएको थियो। तर, ती स्थानहरू पर्यटकका दृष्टिले पनि महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाको आवश्यकता बढेपछि असोज ४ गतेदेखि फोरजी सेवा सुरु गरिएको हो। बेंसीसहर–खाङसार एडीएसएस लिंक सञ्चालन भएपछि त्यहाँ फोरजी सेवा सम्भव भएको नेपाल टेलिकमले जनाएको छ।

यस्तै, चामे गाउँपालिका–३ को कोटोगाउँमा नेटवर्क कमजोर भएको गुनासो आएपछि असोज १ गतेदेखि नयाँ बीटीएसमार्फत टूजी र फोरजी सेवा सुरु गरिएको छ। नासोङ गाउँपालिका–१ तालगाउँमा पनि असोज ५ गतेदेखि फोरजी सेवा थप गरिएको छ, जसको कभरेज लमजुङको च्याम्चे क्षेत्रसम्म पुग्नेछ।

निकट भविष्यमा तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि फोरजी सेवा सुरु गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। यससँगै नार्पाभूमी गाउँपालिका बाहेक मनाङका सबै पालिकामा फोरजी सेवा पुगेको छ। तर, नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने अझै भी–साट प्रणालीमार्फत सेवा सञ्चालन भइरहेको छ।

नेपाल टेलिकमले दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउन उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।